अमेरिकी विरोधका बीच टर्कीले रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली भित्र्यायो

अमेरिकाले विरोध जनाएपनि टर्कीले रुससँग किनेको एस-४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी प्राप्त गरेको छ । टर्कीका रक्षामन्त्रीका अनुसार सो ढुवानी शुक्रवार राजधानी अंकारास्थित एक विमानस्थलमा आइपुगेको हो।

टर्कीले रुसी एस-४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र अमेरिकी एफ-३५ लडाकु विमान सँगै राख्न नपाउने बताउँदै आएको अमेरिकालाई क्रुद्ध बनाउने छ । टर्की र अमेरिका उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका सदस्य हुन् तर टर्कीले रुससँग पनि नजिकको सम्बन्ध राख्न खोजिरहेको छ ।

एक सय वटा अमेरिकी एफ-३५ लडाकु विमान किन्न हस्ताक्षर गरेको टर्कीले एफ-३५ कार्यक्रममा ठूलो लगानी गरेको छ । तर अमेरिकी रक्षा अधिकारीहरू भने रुसी प्राविधिकहरूले एफ-३५ विमानको कमजोरी पत्ता लगाउन सक्ने डरका कारण सो विमानलाई एस-४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नजिकै राख्न चाहँदैनन् ।

एस-४०० ले कसरी काम गर्छ ?

  • लामो दूरी रेखदेख गर्न सक्ने रेडारले कुनै पनि वस्तुको बारे नियन्त्रण गाडीमा सूचना दिन्छ। नियन्त्रण गाडीबाट सम्भावित लक्ष्यको निर्क्यौल गरिन्छ ।
  • लक्ष्य निर्क्यौल भएपछि नियन्त्रण गाडीबाट क्षेप्यास्त्र प्रक्षेपणको आदेश दिइन्छ ।
  • सो सूचना क्षेप्यास्त्र प्रहार गर्न सबैभन्दा राम्रो अवस्थामा रहेको क्षेप्यास्त्र प्रहार गाडीमा दिइन्छ जसले भूमिबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रहार गर्छ ।
  • अर्को रेडारले क्षेप्यास्त्रलाई लक्ष्यसम्म पुग्न मद्दत पुर्‍याउँछ ।

    विविसि नेपालीबाट

Loading...