चार्जमा रहेको मोबाइल चलाउदा बालकको ज्यान गयो

 झापा । झापामा एक बालकको चार्ज गरिराखेको अवस्थामा मोबाइललाई चलाउदा ज्यान गएको छ । चार्जमा रहेको मोबाइल समाउदा ६ वर्षीय बालकको विहीवार ज्यान गएको हो ।

मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह–८ दामाबारी बस्दै आएका ६ वर्षीय बालक रोशन महतोको मोबाइलबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । चिसो हातले चार्जमा राखेको मोबाइल छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोरङको रतुवामाई–१ का गोल्छा महतोका ६ वर्षीय छोरा रोशन झापाको गौरादह–८ दामाबारीस्थित मामाघरमा बस्दै आएका थिए । उनी मामाघरमा बसेर स्थानीय विद्यालयमा एलकेजीमा अध्ययनरत थिए ।

Loading...