उपत्यकाको बाग्मती नदी खतराको तह पार गरेपछि रौतहटका दर्जन बढी गाउँ डुबानमा

रौतहट । राजधानीबाट बगेर राैतह६ पुग्ने बागमती नदी र लालबकैया नदीमा बाढी आउँदा जिल्लाका एक दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन् । लालबकैयाको कटहरियामा र बागमतीको पूर्वतिरको बाँध भत्किँदा बस्तीमा पानी पसेको हो ।

लालबकैया नदीको हरसाहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहालगायतका गाउँ जोखिममा रहेको बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना प्रमुख राजकुमार श्रीवास्तवले बताए । नदी नियन्त्रण टोली ठाउँठाउँमा खटिएको पनि उनले जानकारी दिए ।

यस्तै बागमती नदीको बाढीले गढीमाई, लक्ष्मीपुर, मत्सरी, गढो, बडहर्वा, बसतपुर, ब्रहम्पुरी, हजरिया लगायतका गाउँ जोखिममा परेका छन् । रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बाँध भत्केको ठाउँमा प्रहरी परिचालन गरिएको जानकारी दिए ।

यस्तै चाँदी खोलामा आएको बाढीको कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहट खण्ड अवरुद्ध भएको छ । ठूला गाडी चले पनि साना गाडी चल्न सकेका छैनन् । सदरमुकाम गौरका सरकारी कार्यालय पनि डुबानमा परेका छन् ।

उपत्यकामा अत्यधिक पानी परेपछि बागमती नदीकाे पानी अत्यधिक बढेकाे छ । बागमतीसँगै पानी परेका बेला बढ्ने उपत्यकाका सहायक नदीहरु पनि बढेका छन् । उपत्यकामा सबै नदीमा पानीकाे तह खतराकाे तहसम्म पुगिसकेकाे बताइएकाे छ । 

Loading...