जल्दै गरेको शव प्रहरीले उठायो, स्थानीयको भागाभाग

धनुषा, २४ असार । धनुषामा प्रहरीले जलिरहेको शव उठाएको छ । सबैला नगरपालिका–१ का शत्रुधन यादवकी १४ वर्षीया छोरी पिंकी यादवको जलिरहेको शव प्रहरीले मंगलबार उठाएको हो ।

सोमबार राती आत्महत्या गरेकाे भनिएकी पिंकी यादवको शव प्रहरीलाई खबर नै नगरी परिवारले जलाउन लागेको भन्दै घटना थाहा पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय धनुषाले उनको चिताबाट हव उठाएर पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल पुर्याएको छ ।

उनको घरबाट करिब २ किलोमिटर टाढा खेतमा लगी दागबत्ती दिएर जलाउन सुरु भएको अवस्थामा प्रहरी पुग्दा स्थानियहरुको भागाभाग भएको थियो ।

प्रहरीले शवसहित मलामी गएकामध्ये ७ जनालाई पक्राउ समेत गरेको छ भने उनीहरुको पहिचान सार्वजनिक गरेको छैन ।

पिंकीले आत्महत्या गरेको परिवारले बताएपनि छिमेकीले घटना शंकास्पद रहेको बताएका छन् । जानकारीबिना नै शव दाहसंस्कार गर्न लागेकाले घटना शंकास्पद रहेको जनाउँदै अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Loading...