साउनदेखि देशभर राष्ट्रिय परिचयपत्र वितरण गरिने

काठमाडौं २४ असार। सरकारले आगमी आर्थिक वर्षदेखि साउनदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । सरकारले त्यसका लागि प्रतिघण्टा एक हजार कार्ड छपाइको योजना बनाएको छ ।हाल प्रतिघण्टा ६०० परिचयपत्र उत्पादन हुँदै आएकामा सबै जिल्लामा वितरण सुरु गर्न मेसिनको क्षमता वृद्धिसहित प्रशासनिक र प्राविधिक व्यवस्थापनमा सरकार जुटेको हो । कार्ड उत्पादनको कार्य सिंहदरबारस्थित गृह मन्त्रालयमै रुपमा हुँदै आएको छ ।

व्यक्तिका वैयक्तिक र जैविक सूचनालाई आधिकारिक रुपमा संकलन गरी प्रत्येक नागरिकलाई एकअर्कासँग मेल नखाने मौलिक परिचय नम्बर दिई बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरणलाई हाल अभियानकै रुपमा वितरण भइरहेको छ । यो परिचयपत्र पाएपछि नागरिकले सरकारी काम र सेवा लिनका लागि अन्य कागजात र परिचयपत्र बोकिरहनुपर्ने झन्झटको अन्त्य हुनेछ ।

राष्ट्रिय सुरक्षा, विकास व्यवस्थापन र राजश्व परिचयपत्र व्यवस्थापन प्रणालीलाई आबद्ध गरी महत्वपूर्ण सूचना औजारको रुपमा राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय परिचयपत्रको उपयोग गर्ने यो नेपालका लागि नयाँ प्रणाली हो ।

पहिलो चरणको लक्ष्य पूरा

गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणको लक्ष्यअनुसार पाँचथर र सिंहदरबारस्थित केन्द्रीय निकायका राष्ट्रसेवक गरी एक लाख १७ हजारलाई परिचयपत्र वितरणको लगभग पूरा गरेको जनाएको छ । त्यस्तै दोस्रो चरणमा आगामी साउनदेखि एकैपटक सबै जिल्लामा वितरणको तयारी भइरहेको पनि जानकारी दिइएको छ । सबै नागरिकलाई यो परिचयपत्र वितरणका लागि साढे सात अर्ब लाग्ने अनुमान छ ।

यसले सुशासन र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न सघाउनेछ भने देशैभर यो वितरण सकिएपछि यसको उपयोगबारे सरकारले निर्णय गर्नेछ । महानिर्देशक दीपक काफ्लेले नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार हालसम्म सिंहदरबार र केन्द्रीय निकायका अति विशिष्टसहित सात हजार कर्मचारी र पाँचथरका ८० प्रतिशत नागरिकले यो परिचयपत्र पाइसकेको जानकारी दिए ।

विश्वका विकसित मुलुकले धेरै अघि यस्तो परिचयपत्र र विद्युतीय प्रणालीबाट कारोबार सुरु गरे पनि नेपालमा वि।सं। २०६७ मा यस प्रणालीको अवधारणा बनेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरेको छ भने विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि चाँडै उक्त परिचयपत्र हस्तान्तरण गरिने भएको छ ।

आगामी आ.व. को बजेटमा सरकारले ‘सबै नेपालीको बायोमेट्रिक पहिचान र पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र वितरणको कार्य सुरु गरी दुई वर्षभत्र एक नेपालीले एकभन्दा बढी परिचयपत्र बोक्नु नपर्ने व्यवस्था गरिने’ उल्लेख गरेको छ ।गत मङ्सिर ३ गते पाँचथरको फिदिम नगरपालिका–४ कि १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई गृहमन्त्री रामबहादुर थापाले पहिलो परिचयपत्र प्रदान गरेका थिए ।

साउनदेखि १५ जिल्लामा वितरण हुने

आगामी साउनदेखि हरेक प्रदेशका दुई–दुई र प्रदेश नं ३ का तीन जिल्ला गरी १५ जिल्लामा र आगामी दशैँपछि बाँकी जिल्लामा वितरण सुरु गर्ने विभागको योजना छ ।विभागका महानिर्देशक दीपक काफ्लेका अनुसार ती १५ जिल्लामा प्रदेश नं १ को झापा र संखुवासभा, प्रदेश नं २ को सप्तरी र महोत्तरी प्रदेश नं ३ को लतिलपर, रसुवा र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जा, प्रदेश नं ५ को कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशको सल्यान र जुम्ला र सुदूरपश्चिम प्रदेशको अछाम र कञ्चनपुर छनोट भएका छन् ।

देशभर वितरणका लागि एक हजार स्टेसनका लागि कर्मचारीको विज्ञापन भएको छ भने कार्यालय स्थापना र आवश्यक सामानको बोलपत्र गरिएको छ । प्रति स्टेसनमा कम्तीमा एक जना विभागका कर्मचारी हुनेछन् भने विस्तृत काम सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका कर्मचारीबाटै हुनेछ ।वडास्तर र टोलमै पुगेर परिचयपत्रका लागि फारम भराउने कामका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीले त्यहाँको वस्तुस्थिति र शान्ति सुरक्षा स्थिति हेरेर स्टेसन खडा गर्नेछन् ।

‘राष्ट्रिय परिचयपत्र प्राप्तिपछि नागरिकको मुख्य पहिचान नै यही हुनेछ । यो सुशासनको एक महत्वपूर्ण आधारमा बन्नेछ । सरकारी सेवा प्राप्तिको एक आधार नै राष्ट्रिय परिचयपत्र भएको हुनुपर्ने बन्नेछ,’ महानिर्देशक काफ्लेले भने, ‘यसले व्यक्तिका दोहोरो पहिचानलाईको अवस्थालाई अन्त्य गर्नेछ ।’

Loading...