मेसीको नेतृत्वमा महादेशीय च्याम्पियन बन्ने अर्जेन्टिनी सपना चकनाचुर

काठमाडौं । कोपा अमेरिकाको सेमी फाइनलमा ब्राजिलले अर्जेन्टिनालाइ पराजित गरेको छ । यससँगै विश्व स्टार खेलाडी लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको महादेशीय च्याम्पियन बन्ने सपना यसपटक पनि चकनाचुर बनेको छ । यसअघिका दुई प्रतिस्पर्धामा फाइनलमा पराजित भएको अर्जेन्टिना यसपटक सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो । यसपटक पनि मेस्सी र अर्जेन्टिनाका फ्यानहरु स्तब्ध भए । अर्जेन्टिनी फ्यानहरु मेसीकाे नेतृत्वमा काेपा अमेरिकादेखि विश्वकपकाे उपाधि उचालेकाे हेर्न चाहन्छन । क्लबमा राम्राे गरे पनि मेस्सीले देशकाे जर्सीमा भने अहिलेसम्म ठूलाे सफलता हात पार्न सकेका छैनन । 

नेपाली समय अनुसार बुधबार बिहान सवा ६ बजे भएको सेमिफाइनलमा आयोजक ब्राजिलले अर्जेन्टिनालाइ २–० ले पराजित गरेर फाइनलको यात्रा पक्का गर्यो ।

ब्राजिलको जितमा गाब्रिएल जिसस र रोबर्टो फिरमिनोले गोल गरे । पहिलो हाफममा जिससको एक गोलले अग्रता लिएको ब्राजिलले दोस्रो हाफमा फिरमिनोको अर्को गोलबाट २–०को अग्रता बनायो । खेलको १९ औँ मिनेटमै ब्राजिलका लागि जिससले पहिलो गोल गरेका थिए भने फिरमिनोले ७१ औँ मिनेटमा अर्को गोल गरेका थिए ।

फुटबलका टिप्पणीकर्ताहरुका अनुसार यसपटकको कोपा अमेरिका प्रतियोगिताभर मेसीको प्रदर्शन खासै उल्लेख्य हुन सकेन । उनले यसपटकको प्रतियोगितामा एउटा मात्र गोल गरे । त्यो पनि पेनाल्टी मार्फत ।

अर्जेन्टिना सन् २०१५ र २०१६ को कोपा अमेरिकामा फाइनलमा पुगेको थियो । दुवै फाइनलमा मेस्सी कप्तान थिए र दुवै पटक अर्जेन्टिना चिलीसँग पराजित भएको थियो । मेस्सीले सन् २०१६ को कोपा अमेरिकामा चिलीसँग टाइब्रेकरमा पराजित भएपछि सन्यासको घोषणा गरेका थिए ।

यसपटक अर्जेन्टिनासँगको सेमी फाइनलमा ब्राजिलका स्टार खेलाडी नेइमार चोटका कारण खेल्न सकेका थिएनन । नेयमारविनै ब्राजिलले अर्जेन्टिनालाई पराजित गरेपछि ब्राजिल यसपटकको कोपा अमेरिकाको बलियो दावेदार मानिएको छ ।