काठमाडौँ, १५ असार । आईसीसी टि-२० विश्व कप छनौट ( एसिया फाइनल ) प्रतियोगिता खेल्ने १४ सदस्यीय नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ।
नेपालले जुलाई २० देखि २८ तारिकसम्म सिंगापुरमा आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) खेल्दै छ। त्यस अघि नेपालले मलेसियामा १३ र १४ जुलाईमा मलेसियासंग २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेल्नेछ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमाझ प्रशिक्षक उमेश पटवाल, कप्तान पारस खड्का र टिम व्यवस्थापक रमन शिवाकोटी उपस्थित हुँदै टिमको घोषणा गरिएको थियो।
नेपाली टिमको घोषणा पहिलो पटक पत्रकार सम्मेलन गरेर गरिएको हो। यस अघि टिम व्यवस्थापक रमन शिवाकोटीले इमेल मार्फत मिडियालाई टिम घोषणा बारे जानकारी गर्ने चलन रहेको थियो।
पारस खड्का कप्तानीको टिममा ज्ञानेन्द्र मल्ल उपकप्तान रहेका छन् भने शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामि, कारण केसी, प्रदिप ऐरी, बिनोद भण्डारी, सन्दिप लामिछाने, दिपेन्द्र ऐरी, रोहित पौडेल, ललित राजबंशी, पवन सर्राफ, अविनाश बोहरा रहेका छन्।
यस्तै ४ जना बैकल्पिक खेलाडीहरुमा कुशल भुर्तेल, जितेन्द्र मुखिया, सुशन भारि र आरिफ शेख रहेका छन्।
नेपालले ६ महिना अघि युएई संग सिरिज जित्दा टिममा रहेका खेलाडीहरु भिम शार्की र सन्दिप जोराले टिममा स्थान बनाउन सकेनन्।
यस्तै बन्द सत्र टिममा रहेका अन्य खेलाडी अमित श्रेष्ठ, जितेन्द्र मुखिया, ललित भण्डारी, आरिफ शेख, नन्दन यादब, राजु रिजाल, शाहब आलम, सुशन भारि पनि टिममा छैनन्।
मलेसियासंग १३ र १४ जुलाईमा टि-२० अन्तर्राष्ट्रिय खेलेपछि नेपाल टि-२० विश्वकप छनौट एसिया फाइनल खेल्न सिंगापुर प्रस्थान गर्नेछ। नेपाल सहित आयोजक सिंगापुर, कतार, कुवेत, मलेसिया सहभागी रहेका छन्।
नेपालले २३ जुलाईमा कतारसंग इन्डीयन एसोसिएसन मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै २४ जुलाईमा मलेसियासंग, २७ जुलाईमा कुवेतसंग र २८ जुलाईमा सिंगापुरसंग खेल्ने तालिका रहेको छ। प्रतियोगिताको सबै खेल इन्डियन एसोसिएसन मैदानमा खेल्नेछ।
नेपाली क्रिकेट टिम हाल टियु मैदान किर्तिपुरमा टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) को तयारीमा व्यस्त रहेको छ। टिमलाई नवनियुक्त प्रशिक्षक उमेश पटवालले प्रशिक्षण गराइरहेका छन्।
टि-२० विश्वकप २०२० कसरि छनौट हुन्छ नेपाल ?
टि-२० विश्वकप एसिया फाइनल प्रतियोगिताको शिर्ष स्थानमा पर्न सके नेपाल ग्लोबल क्वालीफायर खेल्न छनौट हुनेछ। ग्लोबल क्वालिफायर युएईमा अक्टोबर ११ देखि ३ नोभेम्बरसम्म आयोजना हुनेछ।
ग्लोबल क्वालिफायरमा नेपाल यदी छनौट भएको खण्डमा नेपालले विश्वका अन्य क्षेत्रको छनौट प्रतियोगिताबाट आएका ६ वटा टिम सहित स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान, आयरल्याण्ड र आयोजक युएईसंग प्रतिस्पर्धा गर्नेछ।
कुल १४ टिम सहभागी हुने ग्लोबल क्वालिफायरबाट उत्कृस्ट हुने ६ वटा टिम २०२० अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकप खेल्न छनौट हुनेछ।