काठमाडौं ११ असार, । त्रिभुवन विमानस्थलको प्रस्थानतर्फको भाग सधैंजसो स्तब्ध ‘मुड’मा हुन्छ । वैदेशिक रोजगारीमा जानेको लाइनमा उभिएका आफ्ना साथीभाइ, छोराछोरी, र आफन्तजनलाई अंगालेर आँशु नखसाल्नेहरु त्यहाँ कमै हुन्छन् ।
हाँसोले विदाइ गर्ने बाचा गरेर विमानस्थलमा आएकाहरु विछोडको पीडा सहन नसकेर एकाएक भक्कानिन्छन् ।
सरकारले जनतासामु ५ वर्षभित्र बाध्यात्मकरुपमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने कसम खाएको छ । यसका लागि उसले प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारेको छ । झण्डै ३ अर्ब रुपैयाँ बाध्यात्मक वैदेशिक रोजगारीमा जानेलाई रोक्नका लागि भन्दै खर्च गरिँदैछ ।
तर, विदेशिन बाध्य युवालाई गाउँ तथा शहरमा करोडौं खर्च गरिरहेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ले रोक्न त के, छुनसम्म नसकेको दृश्य देखियो, त्रिभुवन विमानस्थलमा ।
जाँदाजाँदै विमानस्थलमा सुनियो गुनासो
दाङ, राजपुरका दलबहादुर बुढाको नाम उनको गाउँमा बेरोजगारको सूचीमा दर्ता छ । उनी भन्छन् ‘नाम त दर्ता गरेको हो, तर खै त्यस्तो एक महिनाकै काममा भए पनि आएर गर भनेर कसैले खबर गरेनन् उनी भन्छन् गाउँमा बेरोजगारले काम पाउँछन् भन्ने शहरतिर बस्ने टाठाबाठाहरुले नपत्याए हुने, यहाँ शहरमै त जागिर छैन ।’
दुबई उड्न लागेका धादिङका सुजन बर्तौलालाई पनि गाउँमा रोजगार कार्यक्रम लागेको थाहा छ । तर, उनलाई सरकारमाथि विश्वास छैन । उनी बाटो बनाउने कार्यक्रम दिएर विदेश जानेलाई रोक्छु भन्नु सरकारको मुर्खता भएको टिप्पणी गर्छन् ।‘एक महिना जागिर खाएर ११ महिना हामी तास खेल्नु कि क्यारेमबोर्ड उनी प्रश्न गर्छन् ‘रोजगार भनिन्जेल त पहुँचवालाको कार्यक्तम हुन्छ, स्वरोजगारका लागि पो सरकारले काम गर्ने उनी सरकारलाई युवालाई सीप सिकाएर यहाँ नै केही गर्ने वातावरण सिर्जना गर्न सुझाव दिन्छन् ।
‘५० प्रतिशत हामी राख्छौं, ५० प्रतिशत सरकारले त्यसमा विना ब्याजको ऋण हालिदिलयोस्,’ उनी भन्छन्,‘ आफ्नो पैसा परेको उद्योग व्यवसाय त मान्छेले खाएर पचाउँदैन नि ।’
दाङको शान्तिनगरका प्रेमप्रकाश बुढा त्रिभुवन विमानस्थलमा निन्याउरो अनुहार लगाएर उभिएका थिए । पराई भूमिमा जान लाग्दा उनका खुट्टा काँपेका थिए । नगई सुख पनि छैन, ‘यहाँ त दुःख गर्छु भन्दा पनि गर्न पाइएन,’ सरकारसँग उनको गुनासो यत्ति हो ।विदेशिने युवाको लाइनमा बस्नु प्रेम प्रकाशका लागि बाध्यता मात्रै हैन, बाँच्ने र परिवारको सपना साकार पार्ने एउटै विकल्प पनि हो । सरकारले रोजगारीको लागि भन्दै बेरोजारको दर्ता खोल्दा उनले पनि उत्सहका साथ फारम नभरेका होइनन् । तर, बेरोजगारको सूचीमा दर्ता भएका उनलाई आफ्नो विदेशिने बाध्यतालाई सरकारले टार्ला भन्ने पुरा विश्वास थिएन पनि, भइदियो त्यस्तै ।
एक महिनाका लागि उनको गाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रम आयो । सयजनाका लागि एक महिने काम खुल्यो । गाउँमा उनीजस्ता युवाको ताँती थियो । एक महिनाकै भए पनि काम गरौं न भन्दा उनको गाउँपालिकासम्म पहुँच पुगेन । त्यसैले म्यानपावरलाई पटक–पटक ताकेता गरेर विदेश उड्ने प्रवन्ध मिलाए र विदेश उडे ।
उनको जस्तै कथा छ, सविन बस्नेतको पनि । प्रेम प्रकाशकै गाउँका सविनलाई पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले छोएन । घरबाट विदा नमागी सुखै भएन ।
तनहुँ धार्पुका सविन श्रेष्ठ पनि विदाबारी भएर विमानस्थलमा आइपुगेका छन् । साउदी जान लागेका सविनलाई सरकारले ल्याएको रोजगार कार्यक्रमबारे केही थाहा छैन ।
‘सरकारले गाउँमा रोजगारी दिए हामी किन विदेश जँन्थ्यौं उनी भन्छन् ‘नेपालमै केही गर्न पाए हुन्थ्यो भन्ने त छ तर, यहाँ के गर्नु ’बारा अमलेखगञ्ज राजकुमार घिसिङ पनि सविनसँगै साउदी नै जाँदैछन् । उनको कथा पनि हरुको भन्दा फरक छैन । पहिलो पटक विदेशबाट फर्किँदा ‘अब त देशभित्रै केही गर्छु’ भनेर आएका घिसिङलाई विबशताले दोस्रोपटक त्यतै घँचेट्दैछ ।
उनलाई पनि सविनलाई जस्तै रोजगार कार्यक्रम लागू भएको छ भन्ने पत्तो छैन । उनी सरकारले नेपालमै सरकारले बाँच्न सक्ने खालको रोजगार दिन्छ भन्ने विश्वास आफूलाई नभएको बताउँछन् ।
‘यहाँ बसेर परिवारलाई पालनपोषण र रेखदेख गर्ने खालको जागिर पाइएला जस्तो लाग्दैन, पाए पनि नेतामा मान्छेले पाउँछन्,’ उनी भन्छन्,‘यहाँ मिहिनेत गर्ने इमान्दारलाई विदेश नै गएहुन्छ भन्ने खालको व्यवहार गरिन्छ ।’
‘१२ महिनै काम देऊ, फर्किन्छु’
सिन्धुपाल्चोकका सुवास ठकुरी पनि दुबई उड्न तयार छन् । उनी विदेशबाट नेपाल छुट्टीमा आएका रहेछन् । गाउँमा प्रधानमन्त्री रोजागार कार्यक्रम भन्दै एक महिनाका लागि ३० जना भर्ना गरिएको उनलाई जानकारी छ ।
‘एक महिनालाई त्यस्तो काम दिएर मात्रै हुँदैन, दिर्घकालीन रुपमा मान्छेलाई रोजगार दिलाउनुपर्छ,’ उनी भन्छन्,‘एक महिनाका लागि मात्रै ज्याला दिने कार्यक्रम ल्याएर हुँदैन, १२ महिना नै युवालाई निश्चित रोजगारी दिनुपर्छ ।’उनी सरकारले १२ महिना नै सिपअनुसारको स्थायी रोजगार दिलाउने सुनिश्चितता गरेमा आफू स्वदेश फर्किन तयार रहेको बताउँछन् ।
काठमाडौंका राजेन्द्रप्रसाद रेग्मीले विदशेमा कामका लागि जान लागेका छोरी ज्वाइँलाई विदाइ गरे । ५ वर्ष अमेरिकामा काम गरेर फर्किएका उनलाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता देख्दा नमिठो लाग्छ । तर, उनका प्रायः सबै जसो परिवारका युवा सदस्य विदेशमै छन् ।
‘यो राम्रो कुरा होइन, बाहिर धेरै दुःख छ, देशको परिस्थिति नै युवा अनुकुलको छैन,’ उनी भन्छन्, ‘यहाँ काम पाउने हो भने कुन युवाले घर छोड्छ कसले आफ्नो छोरा–छोरीलाई बाहिर पठाउन चाहान्छन्