एसीसी यु-१९ इस्टर्न खेल्ने नेपाली टिमको घोषणा, खडक भित्र आसिफ र जोरा बाहिर

काठमान्डौ, असार १०। आगामी महिना जुलाई २ देखि ९ तारिकसम्म मलेसियामा आयोजना हुने एसीसी अन्डर-१९ इस्टर्न रिजन २०१९ प्रतियोगिताको लागि नेपाली अन्डर-१९ टिमको घोषणा भएको छ।

रोहित पौडेलको कप्तानीमा नयाँ र यस अघि टिममा रहेका खेलाडीहरुलाई समावेस गर्दै नेपाली टिमको घोषणा गरिएको छ।

नेपाल एसीसी यु-१९ इस्टर्न प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन टिम हो। २०१७ मा मलेसियामा आयोजना भएको प्रतियोगितामा नेपालले हंगकंगलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

प्रतियोगितामा सहभागी हुन नेपाली टिम जुन ३० तारिकमा मलेसिया प्रस्थान गर्ने तालिका रहेको छ। नेपाली टिम हाल टियु मैदानमा अभ्यासरत छ।

नेपाल सहित आयोजक मलेसिया, चिन, म्यानमार, सिंगापुर, भुटान, हंगकंग र थाईल्याण्ड गरि कुल ८ टिम प्रतियोगितामा सहभागी रहेका छन्। ८ टिमलाई २ समुहमा बिभाजन गरिएको छ। नेपाल रहेको समुह ‘ए’ मा चिन, म्यानमार र सिंगापुर रहेका छन् भने समुह ‘बि’ मा मलेसिया, भुटान, हंगकंग र थाईल्याण्ड रहेका छन्।

समुह चरणमा सबै टिमले एक अर्कासंग १/१ खेल खेलेपछि दुवै समुहबाट उत्कृस्ट २ टिम सेमीफाइनल प्रवेश गर्नेछन्। खेलहरु ५० ओभर प्रति इनिंगको हुनेछ।

यस्तो छ १४ सदस्यीय टोलि :- 

रोहित पौडेल ( कप्तान ) , पवन सर्राफ , कमल सिंह ऐरी, रित गौतम, हरि बहादुर चौहान , बिशाल बिक्रम केसी, प्रतिस जिसी, तिलक राज भण्डारी, रासिद खान, भिम शार्की, लोकेस बहादुर बम, सागर ढकाल, कुशल मल्ल, खडक बहादुर बोहरा

वैकल्पिक खेलाडी :- मोहम्मद आसिफ शेख, सन्दिप जोरा, सुर्य तामांग, आकास चन्द

प्रशिक्षक – बिनोद दास, व्यवस्थापक – राजु खड्का, फिजियो – बिक्रम न्यौपाने

सिनियर टिमको लागि खेलीसकेका आसिफ शेख र सन्दिप जोरा परेनन्

नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका तथा यु-१९ टिमबाट पछिल्लो प्रतियोगिता खेलेका आसिफ शेख र सन्दिप जोरा जस्ता खेलाडीलाई अन्तिम-१४ मा स्थान दिईएको छैन। दुवैलाई वैकल्पिकको सुचीमा राखिएको छ। आसिफले २०१७ एसीसी इमर्जिंग टिम्स कपमा नेपालको लागि डेब्यु गरेका थिए भने सन्दिपले यसै वर्ष जनवरीमा युएईसंगको सिरिजमा डेब्यु गरेका थिए। यु-१९ टिमको कप्तान समेत रहीसकेका आसिफ नियमित रुपमा टिममा रहे पनि रन बनाउन भने संघर्ष गर्दै आएका थिए।

यस्तै यस अघि यु-१९ टिममा रहेका देब्रे हाते स्पिनर सुर्य तामांगलाई पनि टिममा बैकल्पिकमा राखिएको छ। आकास चन्द पनि बैकल्पिक सुचीमा छन्।

खडक बोहराको आगमन 

यसै महिना सम्पन्न प्रधानमन्त्री कप प्रतियोगितामा सुदुरपश्चिम प्रदेशको लागि खेल्दै राम्रो प्रदर्शन गरेका खडक बहादुर बोहराले पहिलो पटक नेपाली यु-१९ टिममा स्थान बनाएका छन्। बोहराले उक्त प्रतियोगितामा प्रदेश-५ बिरुद्ध ६२, प्रदेश-३ बिरुद्ध ४० तथा एपीएफ बिरुद्ध १९ रन बनाएका थिए। सुदुरपश्चीमबाटै प्रधानमन्त्री कप खेलेका तथा यस अघि पनि नेपाली यु-१९ टिमको यात्रा तय गरिसकेका लोकेस बम पनि टिममा रहेका छन्। यस्तै यस यु-१६ राष्ट्रिय क्रिकेटर तिलक राज भण्डारीले पनि पहिलो पटक टिममा स्थान बनाएका छन्।

रोहित पौडेल, पवन सर्राफ, कमल सिंह ऐरी, रित गौतम, हरि बहादुर चौहान, प्रतिस जिसी, रासिद खान, भिम शार्की, सागर ढकाल, कुशल मल्ल जस्ता गत अप्रिलमा आईसीसी यु-१९ विश्वकप छनौट एसिया खेलेका खेलाडीहरुलाई टिममा निरन्तरता दिईएको छ। यु-१६ राष्ट्रिय टिमको कप्तानी गरेका बिशाल बिक्रम केसीले पनि टिममा स्थान बनाएका छन्। बिशालको कप्तानीमा नेपालले एसीसी यु-१६ इस्टर्नको उपाधि २ महिना अघि जितेको  थियो ।

नेपाली यु-१९ क्रिकेट टिमले अप्रिलमा मलेसियामा आयोजित यु-१९ विश्वकप छनौट ( एसिया ) प्रतियोगिता खेलेको थियो। त्यस प्रतियोगितामा राम्रो प्रदर्शन गरे पनि युएईसंगको खेल डीएल मेथडमा १ रनले दुर्भाग्यपूर्ण तरिकाले पराजित हुँदा विश्वकप छनौट हुनअसफल भएको थियो ।युएई विश्वकप खेल्न छनौट भएको थियो।

एसीसी यु-१९ इस्टर्नमा नेपालको खेल तालिका 

नेपालले म्यानमारसंग एसटिसी ओभल मैदानमा जुलाई २ तारिकमा एसटिसी ओभल मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै दोश्रो खेल जुलाई ५ तारिकमा किनरारा ओभल मैदानमा सिंगापुरसंग, तेश्रो खेल जुलाई ६ तारिकमा बायुमास ओभलमा चिनसंग खेल्ने तालिका रहेको छ। खेलहरु मलेसिया समय १० बजे अर्थात नेपाली समय ७:४५ बजे बिहान सुरु हुनेछ।

प्रतियोगिताको उत्कृस्ट २ टिमले श्रीलंकामा जुलाई-अगस्टमा आयोजना हुने यु-१९ एसियाकपमा सहभागिता पक्का गर्नेछ। उक्त प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता एसियाली टेस्ट राष्ट्र सहित इस्टर्न र वेस्टर्न क्वालीफायरबाट आएका अन्य ३ टिम गरि ८ टिम सहभागी हुनेछन्।

Loading...