शम्भु राई र उनका सहयोगीमाथि साइबर क्राइम मुद्दा चलाउन माग

काठमाडौ, ९ असार । चर्चित लोकभाका ‘गलबन्दी च्यातियो तिमीले तानेर आफ्नो गीतबाट प्रकाश सपूतले चोरेर बनाएको आरोप लगाएर यतिबेला वरिष्ठ लोकगायक शम्भु राईले मुद्दा दर्ता गरेका छन्। लोकभाकामा आफ्ना कपी राइट हुने दाबी गरिरहेका बेला उनै शम्भु राईविरुद्ध साइबर क्राइममा मुद्दा चलाउन एकजना सांसदले माग गरेका छन्।

नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले नेपालको मौलिक लोकभाकामा आफ्नो कपी राइट चलाउन खोज्दै गायक प्रकाश सपूतमाथि गालीगलोज गर्नेमाथि कारबाही माग गरेका हुन्। यो गीत संसाभरी नेपाली मनले मात्रै नभएर विदेशी मनलेसमेत मन पराएर गुनगुनाइरहेका बताउँदै उनले लोकभाकामा कसैले कपीराइट चलाउन खोज्नु गलत हुने जिकिर गरे।

‘नेपालको कला संस्कृतिलाई अझै समृद्ध बनाउने कलाकार प्रकाश र शान्तिश्री परियारलाई सरकारको सम्बन्धित निकायले सम्मान गर्नुपर्नेमा सत्तारुढ दलकै सांगीतिक क्षेत्रमा आवद्ध भातृसंगठनका शम्भु राईले मेरो लय नक्कल गरेको भनी मुद्दा हालेछन्’, उनले भने, ‘हामीले ख्याल गर्नुपर्ने कुरा के हो भने लोक भाका भनेको पूर्वजहरुले गाउँदै उनीहरुका अनुयायीले त्यसलाई पछ्याउँदै पुस्तौँ पुस्तासम्म जीवित राख्नु हो।

तर यसमा कसैले कपीराइट चलाउन खोज्नु गलत हो।’ एक दिन कुनै कलाकारको स्वरमा रेकर्ड गरेकै भरमा लोकभाका हुन नसक्ने उनको भनाइ थियो। ‘एक दिन एक पटक कुनै कलाकारले एक समयमा गाएको गाउने या रेकर्ड गरिएको गीत लोकभाका हुन सक्दैन’, विश्वकर्माले भने, ‘गाउँघरमा, रोधीघरमा, रत्यौलीमा, मेलापातमा र गोठाला जाँदा स्तःस्फुर्त गाउने भाका नै लोक भाका हो।’ नेता विश्वकर्माले लोक भाकाको नक्कल हुनै नसक्ने पनि जिकिर गरे।

‘लोकभाका न नक्कल हुन्छ, न त चोरी गरिन्छ। प्रकाश सपूतले गाएको गीत र उनको भाका कसैसँग मेल खाँदैन। शम्भु राईसँग मेल खाने त कुरै आउँदैन’, उनले भने, ‘तर विडम्बना एक सामान्य कलाकारले मन छुने स्वर शैलीमा गाएर छायाँकनसमेत गरेको गीतमा एक फरक भूगोल, फरक शैली, फरक शब्द र फरक कालखण्डमा उस्तै उस्तै गीत मैले पनि गाएको थिएँ नक्कल भयो भनी मुद्दा हाल्न पुग्नु एक प्रतिष्ठित कलाकारका लागि लज्जाको विषय बन्नुपर्ने हो।

’ सांसद विश्वकर्माले शम्भु राई र उनका ‘मतियार’हरुले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपूतलाई जातीय भेदभावका दृष्टिले गाली गरेको पनि आरोप लगाए। ‘शम्भु राई र उनका ‘मतियार’हरुले अति नीच गाली गलौज गर्ने र उनलाई हतोत्साहित गर्न निरन्तर लागिपरेको देखिन्छ’, विश्वकर्माले भने। विश्वकर्माले जातीय विभेद गर्ने गरी टिप्पणी गर्नेहरुमाथि कारबाही गर्न पनि माग गरेका छन्।

‘संविधान कानुन र सामाजिक सद्भावको बर्खिलाप हुने गरी सिंगो दलित समुदायको अपमानित हुने गरी नीच ढंगले जातीय भेदभाव र अपमान गरेको हुनाले साइबर कानुन, जातीय छुवाछुत तथा भेदभाव कसुर सजाय ऐन २०६८ र संविधानको धारा २४ अनुसार उनीहरुलाई कानुनी दायरा ल्याउन अनुरोध गर्दछु’, ‘नत्र सिंगो दलितसमुदाय आन्दोलित हुने चेतावनी दिन्छु।’

 

Loading...