पाकिस्तानसँग पराजित भएसँगै दक्षिण अफ्रीका विश्वकपको पहिलो चरणबाटै बाहिरियो

हरिस सोहेलले सानदार ब्याटिंग गर्दै ८९ रन बनाएपछि जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गरेको छ। प्रतियोगितामा पाकिस्तानको यो दोस्रो जित हो।

पहिलो चरणमा ६ खेल खेलेको पाकिस्तानले २ जित र १ नतिजाबिहिन खेलबाट ५ अंक जोडेको छ। दोस्रो जितपछि पाकिस्तान अंकतालिकामा सातौँ स्थानमा समेत उक्लिएको छ। उता पराजित बनेको दक्षिण अफ्रिका भने प्रतियोगिताको पहिलो चरणबाट नै घर फर्किने भएको छ। पछाडीबाट दोस्रो स्थानमा रहेको उसको ७ खेल खेल्दा १ मा जित र १ नतिजाबिहिन खेलसंगै ३ अंक रहेको छ।

अंकतालिकाको शिर्ष स्थानमा अपराजित टोली न्युजिल्याण्ड ११ अंक ( ६ खेल ) सहित रहंदा अष्ट्रेलिया १० अंक ( ६ खेल ) सहित दोस्रो स्थानमा रहेको छ। यस्तै प्रतियोगिताको अर्को अपराजित टोली भारत ९ अंक ( ५ खेल ) सहित तेस्रो स्थान र इंग्ल्याण्ड ८ अंक ( ६ खेल ) सहित चौथो स्थानमा रहेका छन्।

आइतवार राती लर्ड्समा सम्पन्न खेलमा पुनरागमन गर्दै पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गरेपछि पाकिस्तानको समेत शिर्ष ४ मा पुग्ने सम्भावना कायम बनेको छ।

टस जित्दै पहिले ब्याटिंग गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०८ रन जोडेको थियो। उसका हरिस सोहेलले सर्वाधिक ८९ रन जोडे।

शोएब मलिकको स्थानमा टोलीमा आएका सोहेलले मात्र ५९ बलमा ९ चौका र ३ छक्का सहित ८९ रनको बिष्फोटक पारि खेले। यस्तै बाबर अजामले ६९ रन, फखर जमानले ४४ रन र इमाम उल् हकले समेत समान ४४ रनको योगदान गरेका थिए।


दक्षिण अफ्रिकाको बलिंगमा लुंगी एन्गीडीसर्वाधिक ३ विकेट (९-०-६४-३) हात पारेका थिए। यस्तै इम्रान ताहिरको नाममा २ विकेट रह्यो।

जवाफमा ३०९ रनको विजय लक्ष्य लिएर मैदान उत्रीएको दक्षिण अफ्रिकाले पुरै ५० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर २५९ रन मात्र जोड्न सक्यो। उसको चेजमा कप्तान फाफ् डुप्लेसिसले सर्वाधिक ६३, क्विन्टन डी कक्ले ४७ र एन्डीले फेलुक्वायोले ४६ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन।

पाकिस्तानको बलिंगमा शादाब खान र वाहाब रियाजले समान ३-३ विकेट लिए। यस्तै मोहम्मद आमिरले २ र साहिनसाह अफ्रिदीले १ विकेट हात पारे।

विश्वकप क्रिकेट अन्तर्गत सोमबार बंगलादेश र अफगानिस्तान भिड्दै छन्। रोज बल, साउथह्याम्प्टनमा हुने खेल नेपाली समय अनुसार बेलुकी ३:१५ मा सुरु हुनेछ।

Loading...