ब्राथवेटले खोस्न सकेनन् न्युजिल्याण्डको जित, सनसनीपूर्ण खेलमा वेस्टइन्डिज झिनो अन्तरले पराजित

इंग्ल्याण्डमा  जारि एकदिवसीय विश्वकप अन्तर्गत अत्यन्त रोमान्चक खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई ५ रनको झिनो अन्तरले पराजित गर्दै जारि विश्वकपमा पाँचौ जित दर्ता गरेको छ। वेस्ट इन्डिजले भने ६ खेल खेल्दा चौथो हार बेहोर्यो।

२०१६ टि-२० विश्वकपको फाइनलमा कार्लोस ब्राथवेटले अन्तिम ओभरमा १९ रन आवस्यक हुँदा बेन स्टोक्सको बलमा लगातार ४ छक्का प्रहार गर्दै जिताएका थिए। न्युजिल्याण्डसंग परिस्थिति फरक भए पनि ब्राथवेट सामु असम्भव जस्तो स्थितिलाई सम्भव बनाउने अवसर थियो। तर यो पटक प्रयास उस्तै रहे पनि उनि थोरैले सफल भने हुन सकेनन्।

पहिले ब्याटिंग गर्दै न्युजिल्याण्डले दिएको २९२ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज ओपनर क्रिस गेलले टिमलाई राम्रो सुरुवात दिलाए। शाइ होप र निकोलस पुरण समान १ रन बनाएर ट्रेन्ट बोल्टबाट आउट भए पछि गेल र शिमरन हेटमेयरले १२२ रनको तेश्रो विकेटको रुपमा साझेदारी गरे।

हेटमेयर ५४ रन बनाएर आउट भए लगत्तै कप्तान जेसन होल्डर खाता नखोली आउट भए। वेस्ट इन्डिज थप कमजोर अवस्थामा तब पुग्यो जब क्रिस गेल ८७ रन बनाएर आउट भए। ८४ बलमा उनले ८ चौका र ६ छक्का प्रहार गरे।

गेलको विकेट पछि एशले नर्स १ रन तथा इभिन लुइस खाता नखोली ट्रेन्ट बोल्टको शिकार भए। कमार रोच पनि १४ रन बनाएर आउट हुँदा वेस्ट इन्डिज ३९ औं ओभरमा २११/८ को अवस्थामा पुग्यो।

हार नजिक देखिएको बेला छैठौ नम्बरमा ब्याटिंग गरेका कर्लोद ब्राथवेटले एक किनार सम्हाल्दै उत्कृस्ट ब्याटिंग गरे। उनले नवौं विकेटको लागि शेलडन कटरेलसंग ३४ रनको साझेदारी गरे। कटरेल ४५ औं ओभरमा १५ रन बनाएर आउट भए। जितको लागि वेस्ट इन्डिजलाई अझै ४७ रन आवस्यक थियो र साथमा १ विकेट।

तब पनि ब्राथवेटले हार मानेनन् र अन्तिम विकेटको रुपमा ओशेन थोमससंग साझेदारी गर्दै टिमलाई जित दिलाउन प्रयत्न गरे। ब्राथवेटले यस क्रममा शतक पनि पुरा गरे।

जितको लागि वेस्ट इन्डिजलाई ७ बलमा मात्र ६ रन आवस्यक थियो। जित नजिकै हुँदा ब्राथवेटले लंग अनमा प्रहार गरेको सटलाई ट्रेन्ट बोल्टले उत्कृस्ट क्याच गर्दै न्युजिल्याण्डलाई रोमान्चक जित दिलाए। १०१ रन बनाएर ब्राथवेट आउट भए। ९ चौका र ५ छक्का प्रहार गरेका ब्राथवेटले टिमलाई जित भने दिलाउन सकेनन्।

न्युजिल्याण्ड बलर ट्रेन्ट बोल्टले सर्वाधिक ४ विकेट लिन १० ओभरमा १ मेडन गर्दै ३० रन मात्र खर्चिए। यस्तै लकी फर्गुसनले ३ ( १०-०-५९-३ ) तथा जेम्स निशाम र कोलिन डी ग्राण्ड होमले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको न्युजिल्याण्डले ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर २९१ रनको योगफल तयार गरेको थियो।

प्लेयर अफ द म्याच समेत चुनिएका कप्तान केन विलियमसनले जारि विश्वकपमा दोश्रो शतक बनाउने क्रममा १४८ रनको विशाल इनिंग खेलेका थिए। १५४ बलमा उनले १४ चौका र १ छक्का प्रहार गरे। यस्तै रोस टेलरले ६९ रन बनाए। विलियमसनले यस अघि दक्षिण अफ्रीकासंग पनि शतक ( १०६ रन* ) बनाएका थिए। टेलर र विलियमसनले तेश्रो विकेटको लागि १६० रनको साझेदारी गरेका थिए।

Loading...