बाबुरामकै कित्तामा केपी ओली, नेल ठोक्नेलाई कारवाही गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेशम चौधरीलाई नेल लगाएर अस्पताल लैजानेमाथि कारबाही गर्न निर्देशन दिएका छन । चौधरीलाई १४ किलोको नेल ठोकेर अस्पतालको ओछ्यानमा सुताएको तस्वीर भाइरल बनेपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले चौधरीलाई नेल लगाएर अस्पताल लैजाने कार्यमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनायो । मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर उक्त निर्देशन दिएको बताइएको छ ।

टीकापुर घटनाको नाइके मानिएका चौधरीलाई २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्युमा दोषी मानिएको छ ।

घटनापछि फरार भएका चौधरी कैलाली- १ मा राजपाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत हुन् । सांसद जितेको धेरैपछि मात्र उनले आत्मसमर्पण गरेका थिए । जेलमै रहेका बेला २०७५ पुस १९ मा ओली सरकारकै जोडबलमा चौधरीले सांसदको सपथ लिएका थिए ।

सपथपछि पनि जेलमै रहेका बेला जिल्ला अदालत कैलालीले चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।

जेलमा रहेका सांसद चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारका निम्ति अहिले वीर अस्पतालमा राखिएको छ । उपचारकै क्रममा उनलाई नेल लगाइएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

चौधारीलाई भेट्न वीरमा पुगेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले राजतन्त्रकै झल्को दिने यो कार्य बिडम्बनापूर्ण भएको भन्दै सामाजिक संजालको भित्तामा तस्वीर टागेका थिए । सामाजिक संजाल प्रयोगकर्ताहरुले मिश्रित प्रतिक्रिया देखाउदै तस्वीर शेयर गरेपछि तस्वीर भाइरल बन्न पुगेको हो ।

Loading...