हप्तादिन अघि एकाएक वेपत्ता भएको भारतीय सैनिक जहाज चीनको सीमामा यस्तो अवस्थामा भेटियो

एजेन्सी । एक साताअघि १३ यात्री सहित हराइरहेको भारतीय वायुसेनाको विमानको भग्नावशेष चीनको सीमा नजिक फेला परेको छ । विमानको भग्नावशेष चीनको सीमा नजिक अरुणाचल प्रदेशमा फेला परेको भारतीय अधिकारीले जनाएका छन् ।

भारतीय वायुसेनाको तत्कालीन सोभियत संघमा निर्मित एन्टोनोभ एएन ३२ सैनिक विमान गत जुन ३ बाट हराइरहेको थियो । विमानमा चालक दलका ८ सदस्य तथा ५ सर्वसाधारण थिए । भारतीय वायुसेनाले ट्वीटरमार्फत जनाएअनुसार विमानको भग्नाबशेष मङ्गलबार करिब १२ हजार मिटरको उचाईमा भेटिएको हो ।

विमानको भग्नावशेष भेटिएसँगै विमानमा सवार यात्रुको अवस्थाबारे वास्तविकता पत्ता लगाउन प्रयास भइरहेको भारतीय वायुसेनाले जनाएको छ । वेपत्ता विमानको खोजी प्रयासमा कठिनाई भएपछि भारतीय अधिकारीले विमानको अवस्थाबारे सूचना ल्याउने व्यक्तिलाई पाँच लाख ५० हजार भारतीय रूपैँयाको पुरस्कार घोषणा गरेको थियो ।

Loading...