मुगु, १९ साउन । चीन सरकारले आफ्नो सिमानासँग जोडिएका नेपालका उत्तरी नाकाका हिमाली जिल्लालाई विगत वर्षहरुमा झैँ यस वर्ष पनि खाद्यान्न सहयोग गरेको छ ।
मुगु जिल्लाको चीनसँगको सिमाना नाक्चे लाग्नाबाट एक घण्टा टाढा चीनको हयाजिमार भन्ने क्षेत्रमा आज चिनियाँ प्रतिनिधिले मुगुम कार्मारोङ गाउँपालिका वडा नं १ देखि ९ सम्मका घरधुरीलाई खाद्यान्न वितरण गरेका हुन् ।
सो गाउँपालिकामा रहेका सबै वडा, बस्ती चीनको सिमानासँग जोडिएका छन् भने यो क्षेत्रमा सबै कार्मारोङ र मुगाल जनजातिको बसोबास रहेको छ ।
मुगम कार्मारोङ गाउँपालिकाका प्रमुख छिरिङ क्याप्ने लामाका अनुसार चीन सरकारले ९०० क्विन्टल चामल, ९०० क्विन्टल उवा, ७०० क्विन्टल मैदा, २०० क्विन्टल चिनी, तीन हजार ५०० लिटर खानेतेल, दुई क्विन्टल चिया र २०० क्विन्टल नून सहयोग गरेको छ ।
चीन सरकारले खाद्यान्न सहयोग गर्ने भएपछि स्थानीयवासी खाद्यान्न बोकेर ल्याउन घरमा भएका चौँरी, भेडा तथा घोडा लिएर वितरणस्थलमा पुगेका छन् । सहयोग भएको खाद्यान्न दामासाहीका हिसाबले प्रत्येक घरधुरीलाई वितरण गरिएको पनि गाउँपालिकाले जनाएको छ ।
विगत वर्षहरुमा साविकको जिविसका प्रतिनिधिलाई चीन सरकारले खाद्यान्न बुझाउँथ्यो यो वर्ष चीन सरकारले स्थानीय तहका प्रतिनिधिलाई खाद्यान्न बुझाएको छ ।
नेपाली काँग्रेसकी नेत्री सुजाता कोइराला उपप्रधान तथा परराष्ट्रमन्त्री भएका बेलादेखि चीन सरकारले हिमाली जिल्लाका स्थानीयवासीलाई प्रत्येक वर्ष खाद्यान्न सहयोग गर्दै आएको छ ।