विश्वकप क्रिकेटमा अष्ट्रेलिया बिरुद्ध भारतको सानदार जित

इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारतले अष्ट्रेलिया बिरुद्ध ३६ रनको जित हात पारेको छ। लण्डनमा सम्पन्न खेलमा जित दर्ता गरेसंगै भारत अंकतालिकामा समेत तेस्रो स्थानमा उक्लिएको छ।

सन् २०१५ विश्वकपको सेमीफाइनलमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको थियो जसको बदला समेत भारतले लिएको छ।

प्रतियोगितामा २ खेल खेलेको भारतले दुबै जित दर्ता गर्दै ४ अंक जोडेको छ। यस्तै दोस्रो स्थानको इंग्ल्याण्डको समेत ४ अंक रहंदा पहिलो स्थानको न्युजिल्याण्डको ६ अंक रहेको छ। भारतसंग पराजित बनेको अष्ट्रेलियाको भने ३ खेलबाट ४ अंक रहंदा चौथो स्थानमा रहेको छ।

लण्डनमा टस जितेर ब्याटिंग गर्दै भारतले दिएको ३५३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउन अघि ३१६ रन मात्र जोड्न सक्यो।

अष्ट्रेलियाको चेजमा स्टिभ स्मिथले सर्वाधिक ६९, डेभिड वार्नरले ५६ र एलेक्स केरीले अविजित ५५ रन जोडेपनि जितका लागि पर्याप्त भएन। ठूलो लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले खुलेर ब्याटिंग गर्न सकेको थिएन।

भारतको बलिंगमा जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले समान ३-३ विकेट लिए। यस्तै युज्भेन्द्र चहलको नाममा २ विकेट रह्यो।

भारतको इनिंगमा धवनको शतक

यसअघि माथिल्लो क्रमका शिर्ष ४ ब्याट्सम्यानले सानदार ब्याटिंग गरेपछि विश्वकप क्रिकेट अन्तर्गत भारतले अष्ट्रेलिया बिरुद्ध ३५२ रनको बिशाल योगफल तयार पारेको थियो। विश्वकप इतिहासमा कुनैपनि टोलीले अष्ट्रेलिया बिरुद्ध ३५० रन भन्दा धेरै बनाएको यो पहिलो पटक समेत हो।

लण्डनमा टस जितेर ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५२ रन जोडेको थियो।

भारतको इनिंगमा ओपनर शिखर धवनले शतक बनाएका थिए। पछिल्लो केहि समय यता खराब लयमा रहेका धवनले १०९ बल खेल्दा १६ चौका सहित ११७ रन जोडेका थिए। अर्का ओपनर ब्याट्सम्यान रोहित शर्मासंग पहिलो विकेटका लागि धवनले १२७ रनको साझेदारी गर्दा भारत खेलमा राम्रो सुरुवात पाएको थियो। रोहित व्यक्तिगत ५७ रनमा पभेलियन फर्किए।

धवनले पुन: तेस्रो विकेटका लागि कप्तान बिराट कोहलीसंग ९३ रनको साझेदारी गरेका थिए। ३७औं ओभरको अन्तिम बलमा धवन मिचल स्टार्कको शिकार बन्दा भारतले २ विकेट गुमाएर २२० रन जोडेको थियो।

धवनको विकेट पश्चात चौथो नम्बरमा ब्याटिंग गर्न उत्रिएका हार्दिक पान्ड्याले बिष्फोटक ब्याटिंग गर्दै ४८ रन जोड्दा भारतले ३०० रनको आँकडा पार गर्यो। मात्र २७ बल खेलेका हार्दिकले ४ चौका र ३ छक्का सहित ४८ रन जोडे।

यस्तै महेन्द्र सिंह धोनीले व्यक्तिगत २७ र लोकेश राहुलले अविजित ११ रन जोड्दा अन्तिम ओभरमा आउट भएका कप्तान बिराट कोहलीले ८२ रनको इनिंग खेले। ७७ बल खेलेका कोहलीले ४ चौका र २ छक्का प्रहार गरेका थिए।

अष्ट्रेलियाको बलिंगमा मार्कस स्टोइनिसले २ तथा मिचल स्टार्क, नेथन कुल्टर नाइल र प्याट कमिन्सले समान १-१ विकेट लिएका थिए।

प्रतियोगितामा अब भारतले जुन १३ तारिख बिहिबार न्युजिल्याण्डसंग खेल्नेछ भने अस्ट्रेलियाले पाकिस्तानसंग जुन १२ तारिक बुधबार खेल्ने तालिका रहेको छ।

Loading...