गुठी विधेयक खारेजको माग गर्ने नेवार समुदायमाथि माइतीघरमा व्यापक दमन (फोटो फिचर)

काठमाडौं, २६ जेठ । काठमाडौंवासीको धर्म संस्कृतिमाथि आक्रमण भएको भन्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका स्थानीयवासीमाथि प्रहरीले दमन गरेको छ । प्रहरीकाे अाक्रमणबाट प्रदर्शनकाे टाउकाे समेत फुटेकाे छ । 

गुठी विधेयक ल्याएर उक्त विधेयकमार्फत सरकारले स्थानीयको धर्म संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको काठमाडौंका नेवार समुदायले यसको विरोध गर्दै आएका छन् । सोही क्रममा आइतबार काठमाडौंको माइतीघर मण्डलामा नेवार समुदायले प्रदर्शन गरेका हुन् । सो प्रदर्शनमाथि प्रहरीले पानीको फोहोरा हानेर व्यापक दमन गरेको हो । प्रहरीले केही प्रदर्शनकारीलाइ गिरफ्तार समेत गरेकाे छ । 

यहाँका नेवार समुदायले गुठी विधेयकलाई खारेज गर्न माग गर्दै आएका छन् । सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकले नेवाः समुदायलाई भूमिहीन बनाउन खोजेको उनीहरुको भनाई छ ।

यसअघि गुठि बिधेयकका सम्बन्धमा काठमाडौंमा सरोकारवाला बीच बृहत अन्तरक्रिया समेत गरिएको छ । सोही अन्तरक्रियापछि अहिले सडक संघर्षका कार्यक्रम घोषणा गरिएको थियो ।

सडक संघर्ष अन्तर्गत यसअघि गुठी विधेयक जलाइएको थियो । नेवाः देय दबूका अध्यक्ष नरेशकुमार ताम्राकार, नेवाः राजनीतिक अभियानका महेशमान श्रेष्ठ, नेवाः राष्ट्रिय पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जनलगायत नेवार समुदायका अगुवाहरुले काठमाडौंको ढल्कोमा विधेयक जलाएका हुन् ।

त्यसअघि आयोजित कार्यक्रममा गुठी संस्थानका अध्यक्ष मीनराज चौधरीले प्रतिनिधिसभामा विधेयक नलगि सिधै राष्ट्रियसभामा विधेयक लगेको भन्दै त्यसमा ठूलै चलखेल हुन सक्ने दावी गरेका थिए ।

यो विधेयक पारित भए देशकै मौलिक पहिचान बोकेको गुठी प्रणाली ध्वस्त हुने नेवाः समुदायको भनाई छ । गुठी संस्थानका अध्यक्ष चौधरी समेत सरकारको यो कदम आत्मघाती हुने बताउँछन् ।

नेवार जातिको छाता संगठन नेवाः देय् दबुका अध्यक्ष नरेश ताम्राकारले देशमा इसाइकरण गर्ने अभियानअन्तर्गत् विदेशीको प्रभावमा परेर देशभरका गुठी र गुठी संस्कृति मास्नका लागि सरकारले षड्यन्त्रपूर्ण ढंगले यो विधेयक ल्याएको आरोप लगाए ।

नेपाल भाषा टाइम्सका सम्पदक सुरेश किरण मानन्धरले नेवारहरुलाई दबाएर राज्यसत्ताले यो विधेयक पास गरे द्वन्द्व झनै बढ्ने भन्दै यो समय घरमा जात्रा पर्व छ भनेर बस्ने नभई आन्दोलनमा उत्रने समय भएको बताउँछन् ।

माइतीघर मण्डलामा उपत्यकाका विभिन्न गुठी सम्बन्धित गुठियारका साथै तीनै जिल्लाका नेवारहरु सहभागी भएका थिए ।

प्रस्तावित गुठी विधेयकको दफा २३ मा हाल कायम रहेका छुट गुठी र सार्वजनिक गुठी स्वतः राजगुठीमा परिणत हुने उल्लेख गरिएको छ । साथै ती गुठीको चल अचल सम्पत्ति, जायजेथा मात्र नभई देव देवीको प्रतिमा समेत रहेको गुठीयारको हक र दायित्व प्राधिकरणमा सर्ने विधेयकमा उल्लेख गरिएको छ। यस्तै यो विधेयकको दफा २४ मा गुठीयारको हक स्वतः समाप्त हुने व्यवस्था गरिएको छ ।

फाेटाे सबै : बुद्धशरण शाही

Loading...