प्रेसमाथि नियन्त्रण गर्ने सरकारको नियत विरुद्ध पत्रकारको हातेसाङ्लो प्रदर्शन

काठमाडौं । प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकका विरुद्ध नेपाल पत्रकार महासंघकाे नेतृत्वमा पत्रकारहरुले प्रदर्शन गरेका छन । साे क्रममा उनीहरुले विधेयक पास गरे त्यसअन्तर्गत गठन हुने काउन्सिल अस्वीकार गर्ने चेतावनी समेत दिएका छन ।

विधेयकका विरुद्धकाे प्रदर्शनका क्रममा शनिबार राजधानीमा हातेसाङ्लो प्रदर्शन सुरु गर्दै पत्रकारहरुले साे चेतावनी दिएका हुन् । हातेसाङ्लाे प्रदर्शनीका क्रममा बाेल्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले, ‘सरोकारवालाहरूको माग अटेर गरी सरकार अघि बढे काउन्सिल अस्वीकार गर्नेछ । सञ्चार क्षेत्रले आफैं स्वनियम गर्नेछ । हाम्रो आन्दोलन सरकार वा कुनै विचारधाराविरुद्ध होइन, विधेयकविरुद्ध हो ।’

त्यसैगरी महासंघका पूर्वअध्यक्ष सुरेश आचार्य र धमेन्द्र झाले प्रेसकाे घाँटी निमाेठने गरी ल्याइएकाे याे विधेयक कुनै हालतमा पनि स्वीकार गर्न नसकिने बताए । त्यसका विरुद्ध आन्दोलन अपरिहार्य रहेको उनीहरुकाे भनाइ थियाे । त्यसैगरी कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्लेले प्रेस स्वतन्त्रता रक्षाको आन्दोलन संविधानको रक्षाको आन्दोलन पनि भएको बताए । उनले प्रेस स्वतन्त्रता पत्रकारको मात्र अधिकार नभएकाे प्रष्ट पार्दै याे जनताको जान्न पाउने अधिकारका लागि भएकाे बताए ।

त्यसैगरी नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले प्रेस स्वतन्त्रता रक्षा गर्न सडकमै आउनुपर्ने अवस्था सरकारले निम्त्याएको बताए । नागरिकले निर्बाध सूचना पाउने अधिकार रक्षा गर्न आन्दोलन गर्नुपर्ने भएको उनले दर्शाए ।

त्यसैगरी देश सञ्चार डटकमका सम्पादक युवराज घिमिरेले विधेयकलाई संशोधन गरेर पनि स्वीकार्न नहुने बताउँदै यही रवैया रहे पत्रपत्रिका दर्ता खारेज गरिने छैन भन्ने ०४७ सालको संविधानको प्रावधान पनि खारेज हुन सक्ने खतरा औंल्याए ।

त्यसैगरी बाह्रखरी डटकमका सम्पादक प्रतीक प्रधानले निरंकुश शासन झेलेर लोकतन्त्र ल्याएपछि पनि उस्तै अवस्था आएको बताए । लोकतन्त्र आएपछि पत्रकारिता पनि समृद्धिको बाटोमा जाला भनेको त पत्रकार फेरि आन्दोलित हुनुपर्ने अवस्था अाएकाे उनकाे भनाइ थियाे ।

त्यसैगरी रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरे र कारोबार दैनिकका सम्पादक कुवेर चालिसेले पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाए ।

Loading...