चन्दा कम दिएको भन्दै मेयरमाथि मध्यरातमा कुटपिट

रौतहट, २२ जेठ । चन्दा कम दिएको भन्दै रौतहटमा एक मेयरमाथि कुटपिट भएको छ । इस्लाम धर्मावलम्बीको चाड इद उल फित्र मनाउने क्रममा मस्जिदमा बसेका मेयरमाथि मंगलबार राति कुटपिट भएको हो ।

कुटिनेमा रौतहटको राजपुर फरदहवा नगरपालिकाका मेयर शेख सकिल हुन । उनीमाथि सोही ठाउँका एक यूवकले मंगलबार राति कुटपिट गरेका हुन् । मेयरसँग ती युवकले पर्व मनाउने क्रममा चन्दा माग गरेका थिए । तर, मेयरले उनलाई दिएको रकम थोरै भएको भन्दै आक्रमण गरेको बताइएको छ । मेयरमाथि कुटपिट गर्ने युवक शेख नेषाद हुन । उनले मेयरलाई टर्चलाईटले प्रहार गरेको बताइएको छ ।

मेयर सकिल इद मनाउने तयारीमा मस्जिद पुगेका थिए । त्यहीबेला चन्दाको बाहना निकालेर ती युवकले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । गाउँलेको आग्रहमा पर्व मनाउने समय र तयारीबारे बुझ्न मेयर सकिल मस्जिदमा साँझ पुगेका थिए । उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका हुन् ।

आक्रमणबाट मेयर सकिलको आँखामा चोट लागेको छ । उनले सुनियोजित तरिकाले आफूमाथि आक्रमण भएको बताए ।

मेयर सकिलले प्रतिक्रिया दिँदै भने, ‘चन्दा एउटा बाहना मात्र हो । पुरानो रिसइबि साध्न आक्रमण गरेको हो । घट्नामा संलग्नलाई कडा कारबाही हुनुपर्छ ।’

आक्रमणमा संलग्न भएका युवक नेषादले पर्वका बेला अली बढी रकम सहयोग दिनुपर्ने माग गरेका थिए । तर, मेयर सकिलले यो बेला चन्दा माग्ने नभएको भन्दै बरु भोलि कार्यालयमा आउनु भनेका थिए ।

मस्जिदमा पुगेका बेला युवकले हातमा टर्च बोकेका थिए । त्यही टर्चले उनले मेयरमाथि आक्रमण गरेको पनि प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । युवकले मेयरमाथि आक्रमण गरिरहेका बेला अरु स्थानीय आएर छुट्टाएका थिए । त्यतिनै बेला ती युवक फुत्केर फरार भएको बताइएको छ ।

आक्रमण भएको केही समयपछि घटनास्थलमा प्रहरी पुगेको थियो । प्रहरीले मेयरमाथि आक्रमण गर्ने युवकको खोजि भइरहेको जनाएको छ ।

घाइते मेयरलाई उपचारका लागि सदरमुकाम गौर लगेर राति नै वीरगंज लगिएको बताइएको छ ।

Loading...