पूर्वराजा ज्ञानेन्द्रका व्यापारिक साझेदारको अमेरिकामा मृत्यु

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा व्यावसायिक साझेदार प्रभाकर शमशेर राणाको उपचारका क्रममा बिहिबार अमेरिकाको न्युयाेर्कमा निधन भएको छ।

एक वर्षदेखि न्युयाेर्कमा उपचार गर्ने क्रममा बिहिबार राणाको निधन भएको पारिवारिक स्रोतहरूले पुष्टि गरेका छन्। राणाको शव नेपाल ल्याएर संभवतः शनिबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम छ।

८४ वर्षीय राणा ढाडको विरामी थिए र त्यसको सल्यक्रिया गर्ने क्रममा अस्पतालको हलेचेक्र्याइँले गर्दा झन् थला परेका थिए। एक वर्षदेखि न्युयोर्कमै रहेर उपचार गर्ने क्रममा केही महिनाअघि उनलाई ‘हार्टअट्याक’ भएको थियो।

पत्रकार तथा नागरिक अगुवा कनकमणि दीक्षितले नेपालका लागि राम्रो काम गरेका तर नेपालीले राम्रोसँग नचिनेका मित्रका रुपमा राणालाई सम्झिए।

‘प्रभाकर शमशेर राणा नेपालको स्थायित्वका लागि महत्वपूर्ण व्यक्तित्व हुन्’, दीक्षितले नेपालखबरसँग भने, ‘नेपालको आर्थिक विकासको क्षेत्रमा उनले निकै राम्रो काम गरेका छन्, जसबारे धेरै नेपालीलाई थाहा नहुनसक्छ।’

‘यदि उनी दिग्गज उद्योगी अथवा शाही विश्वासपात्र थिएनन् भने नेपालको स्थायित्वका लागि निरन्तर लाग्ने राजनेताका रुपमा चिनिने थिए’, दीक्षितले शुक्रबार बिहान ट्वीटमा भनेका छन्, ‘हामी तिमीलाई असंख्य क्षेत्रमा सम्झिने छौं।’

पूर्वराजा ज्ञानेन्द्र र नेपालको राजपरिवारसँग व्यवसायिक साझेदारी गरेका राणाले नेपालको आर्थिक विकासको क्षेत्रमा ठूलो योगदान पुर्याएका छन्। नेपालको पहिलो अन्तर्राष्ट्रिय स्तरको होटल सोल्टीमा पनि ज्ञानेन्द्रसँग राणाको साझेदारी छ।

होटल सोल्टीको संस्थापक अध्यक्ष राणा हिमाल इन्टरनेशनल पावर, सिप्रदी ट्रेडिङ, सूर्य टोवाको लगायतका व्यावसायमा संलग्न थिए। राणाले राजा ज्ञानेन्द्रको राजनीतिक तथा आर्थिक सल्लाहकारको भूमिका खेलेका थिए। रणा निकट कतिपयको के बुझाई छ भने यदि राणाको सल्लाह मानेका भए ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिने र निरंकुशता लाद्ने कदम चाल्ने थिएनन्।

पछि शासनसत्ता राजनीतिक पार्टीहरूलाई फार्काइदिन राणाले दिएको सल्लाह पनि ज्ञानेन्द्रले मानेनन्, जसले गर्दा उनले सत्ता मात्र होइन राजतन्त्र नै गुमाउनु पर्यो।

Loading...