धुर्मुस सुन्तलीले बनाउने थालेको रंगशालाको बार डोजर लगाएर भत्काउने १६ पक्राउ

चितवन, १५ जेठ । धुर्मुस सुन्तली फाउन्डेशनकाे पहलमा चितवनमा बन्न लागेकाे गाैतमबुद्ध अन्तरराष्ट्रिय क्रकेट रंगशालाकाे बार भत्काउनेहरु पक्राउ परेका छन् । चितवन प्रहरीले बार भत्काउन सम्लग्न रहेका १६ जनालाइ पक्राउ गरेकाे हाे ।

रंगशाला निर्माणस्थलमा सुरक्षाका लागि लगाइएको जस्तापाता सहितको बार बुधबार बिहान डाेजर प्रयाेग गरेर भत्काइएकाे थियाे । करिव १ किलाेमिटर बार डाेजर भत्काएपछि फाउन्डेशनले अापत्ती जनाएकाे थियाे । प्रहरीले बार भत्काउन प्रयोग गरिएको डोजर समेत नियन्त्रणमा लिइएको छ।

रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने स्थानीयको माग छ। कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने उनीहरुको भनाई छ। स्थानीयले समेत केही मिटर छाडेर बाटो खोल्ने सहमति भएको ४ दिनपछि नै केही व्यक्तिहरुको उक्साहटमा जस्ताको बार भत्काइएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए।

सडक विस्तार गर्ने सम्बन्धमा असन्तुष्ट पक्षले उक्त घटना गराएको चितवन प्रहरीले जनाएको छ। अराजक व्यक्तिहरुले उक्त घटना गराएको भन्दै केही स्थानीयले भने दोषीलाई पक्राउ गरी कारबाही गर्दै स्थानीय प्रशासनलाई दवाव दिएका थिए।

भत्काइएको क्षेत्रको बुधबार जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललगायतले अनुगमन गरेका छन्।

Loading...