बाहिर श्रृङ्खलाबद्ध वम विष्फोट भइरहँदा, गृहमन्त्रालयमा भयो हातपात

काठमाडौं, १३ जेठ । राजधानीसहित देशभरि शृंखलाबद्ध बम विस्फोट भइरहेका बेला गृहमन्त्रालयभित्रै कुटपिट काण्ड घटेको छ । सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधामा असहमति राख्दै आइतबार एक समूहले गृह मन्त्रालयभित्रै कर्मचारीमाथि हातपात गरेको बताईएको छ ।

सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधा टुंग्याउन गृह मन्त्रालयका सहसचिव ईन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन भएको थियो । कार्यदलले विभिन्न प्रस्तावमा छलफल गरिरहँदा युवराज विकसहितको ११ जनाको टोलीले कर्मचारी र घाइते, अपाङ्गका प्रतिनिधिमाथि आक्रमण गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

द्वन्द्वका घाइते अपाङ्गलाई भत्ता, उपचार खर्चसहितको सुविधाको माग राख्दै केही समय पहिले उनीहरू अनसनमा बसेका थिए । माग सम्बोधन गर्न बनेको कार्यदलको बैठकमा कर्मचारीमाथि हातपात भएको हो

द्वन्द्वका घाइतेहरू समेत रहेको कार्यदलले विभिन्न विकल्पमा छलफल गरिरहेका बेला कार्यदलमा सहभागी युवराज विकले कुनै पनि प्रस्तावमा सहमति छैन भन्दै आक्रमण गरेको स्रोतले जनाएको छ । युवराज विकले कार्यदल बाहिरका थप १० जना युवाहरूलाई बोलाएर कर्मचारीहरूलाई हातपात गरेका हुन् ।

घटनालगत्तै हातपातमा संलग्नहरूलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाएको गृह मन्त्रालयले जनाएको छ । विप्लवका कारण गृहमन्त्री रामबहादुर थापासहितका उच्च अधिकारीहरू शान्ति सुरक्षालाई लिएर केन्द्रित भएका बेला गृहमन्त्रालयभित्रै कुटाकुट भएपछि कर्मचारीहरूले आक्रोश व्यक्त गरेका छन् ।

यसैबीच काठमाडौंको सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । घटनामा ८ जना घाइते भएका छन् ।

सुकेधारास्थित एक शैलुनमा भएको बम विस्फोटको घटनामा तीन जनाको मृत्यु भएको हो । एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई जनाको उपचारका क्रममा ओम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सुकेधारा विस्फोटमा ज्यान गुमाउनेको पहिचान खुलेको छैन । विस्फोटमा शैलुन सञ्चालक जीवकुमार ठाकुर घाइते भएका छन् ।

त्यसैगरी घट्टेकुलोमा भएको विस्फोटमा अर्का एक जनाको मृत्यु भएको हो । सुकेधारामा बिस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको हो । मृतकको सनाखत नभए पनि घाइते भने रविन केसी रहेको बताइएको छ। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । केसी नेकपासम्वद्ध विद्यार्थी संगठनको त्रिचन्द्र कलेजका इकाई अध्यक्ष भएको जनाइएको छ ।

काठमाडौंका विभिन्न ठाउँमा भएको विस्फोटमा प्रतिबन्धित नेकपाको संलग्नतामा रहेको प्रहरीले जनाएको छ । सवै ठाउँमा भएको विस्फोटको प्रकृति उस्तै प्रकारको भएको समेत प्रहरीले जनाएको छ ।

विस्फोट भएको स्थानबाट प्रहरीले नेकपाको पर्चा समेत भेटेको छ । त्यस्तै अपरान्ह काठमाडौंको कोटेश्वरबाट पनि प्रहरीले ७ जना नेकपाका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट ४ वटा प्रेसर कुकर र पर्चा बरामद गरेको जनाएको छ । नेकपाले सोमबार नेपाल बन्द आह्वान गरेका कारण विभिन्न स्थानमा बम राखेर त्रास मच्चाएको प्रहरीको दाबी छ ।

यसैबीच गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

काठमाडौँको दुई स्थानमा आइतबार शृंखलाबद्ध विस्फोट जारी रहेकै बेला गृह मन्त्रालयमा बसेको बैठकमा उनले घटनाबारे विस्तृत अनुसन्धान गर्न र सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

बैठकमा गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रजिअ सहभागी थिए ।

बैठकमा सुरक्षा निकायका प्रतिनिधिहरुले घटनामा मृत्यु भएका र घाइते भएका व्यक्तिका विवरण, घटनास्थलको अवस्थालगायतका बारेमा मन्त्री थापालाई जानकारी गराएका थिए ।

Loading...