काठमाडाैं । भारतको अमेठी स्थित बरौलिया गाउँका पूर्व प्रधान सुरेन्द्र सिंहको गोली हानेर हत्या गरिएको छ । शनिबार राति आफ्नै घरमा उनलाई गोली प्रहार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
गोली प्रहारबाट घाइते भएका सिंहलाई उपचारका लागि लखनउ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । सुरेन्द्र सिंह अमेठीमा हालै लोकसभा चुनाव जीतेकी नेतृ स्मृति ईरानीका नजिकका व्यक्ति हुन् ।
लोकसभा चुनावमा सुरेन्द्रले स्मृति ईरानीको प्रचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । थुप्रै गाउँमा सिंहको प्रभाव बलियो थियो ।
यो घटनापछि अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ। घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।