भारतले नेपाललाई जानकारी नदिएरै पानी छोड्दा नेपाली गाउँ डुबानमा

सप्तरी, ११ जेठ । भारतका कारण नेपालीले वर्षा नलाग्दै डुवानमा पर्नुपरेको छ । पूर्व सूचना नदिई भारतीय पक्षले पाइलट च्यानलमार्फत पानी छाड्दा सप्तरीको गोबरगाढामा पानी पसेर डुवानको आएको हो ।

भारतीय पक्षले कोशी व्यारेजको २८ नम्बर ढोका अगाडिबाट करिब तीन बर्षअघि खन्न शुरु गरेको पाइलट च्यानलमार्फत एक्कासी पानी आएको छ । नयाँ संरचना अनुसार हनुमाननगर–कंकालनी नगरपालिकाको वडा नम्बर १३ बनाइएको गोबरगाढा बर्षाको समयमा प्रायः डुबानमा पर्ने गर्छ ।

तर, भारतीय पक्षले एक्कासी पाइलट च्यानलमार्फत पानी छाड्दा बर्षा अगावै गोबरगाढामा पानी पसेको छ । हनुमाननगर कंकालनी नगरपालिकाका प्रमुख शैलेश साहले भारतीय पक्षले छाडेको पानी गोबरगाढामा पसेको बताए ।

उनका अनुसार छाडिएको पानीका कारण केहि डुंगा बगाएको छ । बर्षाको समयमा गाउँ जान र बाहिर निस्किन प्रयोग गरिने डुँगा बगाएपछि यहाँ अर्को डुँगा पठाउने तयारी गरिएको मेयर साहले जानकारी दिए ।

पानीका कारण सय बढी परिवार गाउँमै अड्किएका छन् । उनीहरुलाई बाहिर जान र निस्किन समस्या भएको छ । यद्यपि यहाँका बासिन्दाहरु अहिलेसम्म सुरक्षित रहेको नगरपालिकाले जनाएको छ ।

Loading...