काठमाडाैं । लोकसभा चुनावमा लज्जाजनक हार व्यहाेरेपछि भारतीय कांग्रेसमा भुइचालाे गएकाे छ । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले समेत पदबाट राजिनामा चर्चा चलिरहेकाे छ ।
यसैबीच साे पार्टीका महत्वपूर्ण नेताहरुले पदबाट राजिनामा दिन सुरु गरेका छन् । कांग्रेसले पराजय हुनुका कारणबारे समीक्षा गर्ने तयारी गरिरहेका बेला ती नेताहरुले राजीनामा दिन थालेका हुन् । साे क्रममा उत्तर प्रदेश, ओडिसा र कर्नाटक राज्यका तीन वरिष्ठ नेताले राजीनामा दिएका छन् ।
उत्तर प्रदेशमा ८० सिट मध्ये कांग्रेसले रायबरेली सिट मात्रै जितेको छ । राहुल गान्धी आफ्नो अमेठी सिट जोगाउन पनि असफल रहे । यो हारपछि प्रदेशमा कांग्रेसका अध्यक्ष राज बब्बरले पदबाट राजीनामा दिएका छन् ।
राज बब्बर फतेपुर सिकरीबाट चुनावी मैदानमा थिए र उनी भाजपाका उम्मेदवारसँग झण्डै पाँच लाख मतले पराजित भए । बब्बरले प्रदेशमा हारको जिम्मेवारी लिँदै राजीनामा दिएका हुन् ।
कांग्रेसले एचके पाटिललाई कर्नाटकमा चुनावी अभियानको जिम्मेवारी दिएको थियो । तर कर्नाटकमा पनि कांग्रेस नराम्रोसँग पराजित भयो । पाटिलले पनि आफ्नो पदबाट राजीनामा दिएका छन् ।
यस्तै ओडिसाका कांग्रेस प्रमुख निरंजन पटनायकले पनि राजीनामा बुझाएका छन् । ओडिसामा कांग्रेसले विधानसभामा ९ र लोकसभामा एक सिट मात्रै जितेको छ । पटनायक दुई विधानसभा सिटबाट चुनावी मैदानमा थिए र दुवैमा पराजित भए । पटनायकका छोरा लोकसभाका उम्मेदवार थिए र उनी पनि पराजित भए ।
कांग्रेसमा अझै राजीनामा आउने सम्भावना छ । तर पार्टीको नेतृत्व यसबारे कुनै हतारो गर्ने अवस्थामा छैन ।
कांग्रेसको महत्वपूर्ण निर्णय लिने क्षमताको कांग्रेस वर्किङ्ग कमिटिको बैठक शनिबार बस्दैछ । यो बैठकमा चुनावी नतिजाको समीक्षा हुनेछ ।
कांग्रेसले ती सबै अड्कलहरुलाई खारेज गरेको छ कि चुनावी हारपछि अध्यक्ष राहुल गान्धीले राजीनामा दिने प्रस्ताव गरेका थिए । केही नेताहरुले बताएका छन् कि राहुल गान्धीले वर्किङ्ग कमिटिको बैठकमा राजीनामाको प्रस्ताव गर्न सक्नेछन्, तर त्यसलाई स्वीकार गरिने छैन ।