यस्तो रहेछ प्रचण्डले दोस्रो विवाह गर्नुको गुह्य कारण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाेस्राे विवाह गरेका छन् । ५० वर्षअघि पहिलाे १५ वर्षकै उमेरमा विवाह गरेका प्रचण्डले ५० वर्ष पुगेका अवसरमा दाेस्राे विवाह गरेका हुन् । 

प्रचण्डले दाेस्राे विवाह दाेस्राे व्यक्तिसँग नभइ पत्नी सिता दाहालसँगै गरेका हुन् । उनले पत्नी सीता दाहालकै आग्रहमा ५० औं वर्षगाठको अवसरमा पुनः विवाह गरेको बताएका छन् ।

विवाहले पत्नी सीताको स्वास्थ्योपचारमा मनोवैज्ञानिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेको आफ्नो रहेको प्रचण्डको भनाई छ । निकै भावुक वाताबरणको बीच मन्तव्य दिएको प्रचण्डले सबैको मायाले परिवारलाई हौसला र प्रेरणा मिलेको बताए । भने, ‘तपाईहरुको मायाले अन्तिम स्वाससम्म देश, जनता, पार्टीको पक्षमा काम गर्ने हौसला र प्रेरणा मिलेको छ ।’

बिहीबार निवासमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कार्यक्रमले पत्नी सीताको मनोवल उच्च भएको भन्दै खुसी समेत व्यक्त गरे ।

भने ‘पत्नी सीताको निम्ति माया, प्रेम र हौसलाको आवश्यकता छ । अघिल्लो वर्षदेखिनै सीताले अर्काको वर्ष हाम्रो विवाह भएको ५० वर्ष पुग्छ । परम्परागत ढंगले विवाह गर्ने भन्ने उनको प्रस्ताव थियो । यता छोरीहरुले पनि राम्रै हुन्छ भन्ने सुझाव दिए । सबैको सल्लाहअनुसार यो कार्यक्रमको आयोजना गरिएको हो। यो आविष्कार मेरो होइन ।’

सीताकाे स्वास्थ्यका लागि दाेस्राे विवाह

कास्की ढिकुरपोखरीका दाहालले छिमेकी गाउँ हेङ्जाकी सीतासँग १५ वर्षको उमेरमा २०२६ सालमा मागी विवाह गरेका थिए । त्यतिबेला सीता पनि १५ वर्षकी नै थिइन् । ‘प्रचण्ड’ र सीता पौडेलबीच विवाह भएको आज ५० वर्ष पुगेको छ ।

दाहाल र पौडेलका परिवार पुख्यौली थलो कास्कीबाट बसाई सरेर चितवन झरे। चितवनमा पनि उनीहरूको घर नजिकै थियो । दाहाल जोडीका चार सन्तानमध्ये रेणु भरतपुर महानगरकी मेयर छिन् भने अर्की छोरी गंगा निजी सचिवालयको जिम्मेवारीमा छिन् । जेठी छोरी ज्ञानु र एक मात्रै छोरा प्रकाशको भने निधन भएको छ ।

छोराको निधनपछि विक्षिप्त बनेकी सीता ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छिन् । पछिल्लो समय सीताको शारीरिक अवस्था निकै कमजोर भएको छ । सीता साहराबिना हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी छिन् ।

चिकित्सकहरुका अनुसार पिएसपी मानसिक कारणले हुने रोग भने होइन। तर, ब्रेनमा आउने समस्याले गर्दा हुन्छ । यो निको नहुने रोग हो । प्रकाशको निधनपछि सिता निरन्तर यो समस्याबाट पिडित छिन् ।

चिकित्सकहरुका अनुसार यो रोग लागेपछि गिदी (ब्रेन)मा समस्या देखिन्छ । स्नायु तन्तुहरूमा रहेको प्रोटिनमा गडबडी हुन्छ। जसलाई टाउ प्रोटिन भनिन्छ । यो गडबडीका कारण कारण नसाहरू गुजुमुजु भएर खुम्चन्छन्। ब्रेन सुक्दै र खुम्चँदै जान्छ ।

बारम्बार लड्ने र डिप्रेसन बढ्ने भएकाले यस्तो बिरामीलाई परिवार र साथीभाइको हौसला महत्वपूर्ण हुने बताइन्छ । यही कारण पनि प्रचण्डले आज ५० औं वर्षगाँठ मनाएका हुन् ।

Loading...