नेकपाका पोलिटब्यूरो सदस्य रणविर कोहलपुर र नेपालगञ्जबीच पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ लाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेता रणवीरलाई बुधबार बाँकेको गनापुरबाट  गिरफ्तार गरिएको बताइएकाे छ । नेपालगञ्ज र काेहलपुरकाे बीचमा पर्ने गनापुरबाट उनलाइ प्रहरीले गिरफ्तार गरेर इलाका प्रहरी कार्यालय काेहलपुरमा राखिएकाे बुझिएकाे छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले नेता वमलाई गिरफ्तार गरिएको जानकारी दिए ।

नेता रणवीर नेकपाकाे पश्चिम क्षेत्रका प्रभावशाली नेता हुन् । सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि प्रहरीले नेकपाका नेता–कार्यकर्ता खोज्न ‘सर्च एण्ड अरेस्ट अपरेसन’ तिव्र पारेको थियो । यसअघि अपराध महाशाखाको टोलीले नेकपाका मध्य कमान्डर तथा पोलिटब्युरो सदस्य हेमन्त प्रकाश वली ‘सुदर्शन’ लाई काभ्रेबाट पक्राउ गरेको थियो ।

त्यसअघि नेकपाका अर्का पोलिटब्यूरो सदस्य माेहन कार्की जीवन्त, केन्द्रीय सदस्यहरु वसन्त श्रेष्ठ प्रज्वलन, चन्द्रबहादुर खडका असल खड्का, बन्धु चन्द, चुडामणी अाेली अादर्श  लगायतका नेताहरुलाई गिरफ्तार गरेर हिरासतमा राखिएको छ । प्रहरीले अहिलेसम्म नेकपाका ४ सय बढी नेता कार्यकर्तालाई गिरफ्तार गरिसकेको छ ।

सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको २ महिना पुग्दैछ । नेता कार्यकर्ता र समर्थक शुभचिन्तकहरुलाई अहिले पनि ओली सरकारले गिरफ्तार गर्न, यातना दिन र गाउँगाउँमा सर्च गर्न छाडेको छैन ।

 

Loading...