नीति तथा कार्यक्रममाथि प्रतिपक्षीले उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिँदै

काठमाडाैँ, २४ बैशाख । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ दिँदैछन्।

संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले जबाफ दिने कार्यक्रम छ। आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा नीति तथा कार्यक्रम पेस गरेकी थिइन्।

नीति तथा कार्यक्रमको अन्तर्वस्तु भन्दा पनि प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले प्रयोग गरेको भाषा शैलीको विपक्षी दलका सांसदले चर्को आलोचना गरेका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि संघीय संसदमा गएको आइतबारदेखि छलफल भइरहेको छ। आजको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले जबाफ दिने र दोश्रो बैठकले नीति तथा कार्यक्रम पारित प्रक्रिया सुरु हुने बताइएकाे छ।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले जबाफ दिएपछि प्राप्त संशोधन प्रस्तावलाई निर्णयार्थ पेस गरिने छ। आजै नीति तथा कार्यक्रम पारित हुने सम्भावना रहेको संसद सचिवालय श्रोतले जनाएको छ।

सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल कांग्रेस र राष्ट्रिय जनता पार्टीले संशोधन प्रस्ताव दर्ता गराएका छन्। कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भन्ने शब्दावली प्रयोग गरेकाले त्यसलाई सच्चाएर ‘नेपाल सरकार’ बनाउनुपर्ने माग गरेको छ।

योसँगै कांग्रेसले स्थानीय तहलाई हस्तक्षेप गरेर संघीयता कमजोर बनाउन खोजेको, सुशासन, विकास र समृद्धिका विषय नीति तथा कार्यक्रमले नसमेटेको आरोप लगाएको छ। राष्ट्रिय जनता पार्टीले पनि विभिन्न ५ बुँदामा संशोधन प्रस्ताव दर्ता गराएको छ।