सदनमा नीति तथा कार्यक्रममाथि चर्को आलोचना, भाङ खाएर लेखेकोदेखि महारानी इलिजाबेथ बनेको आरोप

काठमाडौं, २२ बैशाख । संघीय संसदमा सरकारले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलहरुले कला प्रहार गरेका छन् ।

आइतबारबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु भएपछि प्रतिपक्षी दलका नेताहरुले यस्ताे आलाेचना गरेका हुन् । सदनमा बाेल्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाइ सरकारले बेलायती महारानीका रुपमा उभ्याइएकाे आराेप लगाए । उनले सरकारले अहिले ल्याएका धेरै कार्यक्रम आफूले प्रधानमन्त्री हुँदा नै सुरु गरेकाे भन्दै त्यस्ता ‘बकमफुसे’ दावी नगर्न चेतावनीसम्म दिए । उनले सामाजिक सुरक्षा कार्यक्रम, नेपालको आफ्नै भू उपग्रह, भेरी बबई डाइभर्सनलगायतका कार्यक्रम आफू नेतृत्वको सरकारले ल्याएर सफल बनाएकाे दावी गरे ।

त्यसैगरी अर्काे प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी, नेपालले पनि चर्को विराेध जनाएकाे छ। सदनमा बाेल्दै राजपाका नेता राजेन्द्र महतोले नीति तथा कार्यक्रम झूठको खेती भएको आरोप लगाए। उनले नीति तथा कार्यक्रम भाङ खाएर लेखेकाेसम्म आराेप लगाए ।

उनले भने, ‘नीति तथा कार्यक्रम झूटको खेती जस्तो छ। सफेद झूट छ। जनताको अधिकारमाथि दिनदहाडै डकैती छ। जनतालाई ढाँट्ने कार्यक्रम आएको छ।’ नीति तथा कार्यक्रमको बुँदा नम्बर ७ मा उल्लेख गरिएको ‘संविधानको सर्वस्वीकार्यता’ भनिएकामा राजपाले विरोध जनाएको हो।’

सरकारको नीति तथा कार्यक्रमप्रति आक्रोशित देखिएका महतोले भने, ‘के भन्न खोजेको हो? यो मुलुक यसरी चल्ने हो? जे मन लाग्यो त्यसरी लेखिदिने? हिमाल, पहाड, तराईका जनताले विमती देखाएका हुन।’

महताेले प्रधानमन्त्रीले नै यसअघि आफूहरुसँग संविधान संशोधनको मुद्दा स्वीकारेको उल्लेख गर्दै भने, ‘हाम्रो समर्थन लिने बेलामा प्रधानमन्त्रीले रोष्ट्रमबाट विमती स्वीकारेका हुन। भाँङ खाएर नीति तथा कार्यक्रम लेखिएको हो? त्यस्तै देखिन्छ। आधा निन्द्रमा लेखिएको हो कि क्या हो? विमती छैन रे! भो अब?’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीकाे सम्बोधनलाई शाही शैलीको सम्बोधन भनेर आलोचना गरे । उनले भने, ‘शाही सम्बोधनको शैलीमा आएको नीति तथा कार्यक्रम, पहिलेपहिले श्री ५ को सरकार हुँदाखेरि मेरो सरकार भनिन्थ्यो। के हो यो ? गडबड भइसक्यो कि क्या हो नेपालमा?’

त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले ठुला कुरा गरेर समृद्धि नआउने बताए । सरकारले संघीयता कमजोर बनाउने खेलमा लागेकाे नेता रिजालले अाराेप लगाए ।

सरकारका कामबारे कटाक्ष गर्दै नेता रिजालले एउटै गतिलो काम गर्न नसकेको भन्दै व्यङ्ग्य गरे। उनले भने, ‘सरकार धुलोमुक्त काठमाडौँ भन्दैछ तर मान्छे हाँस्दैछन् । सरकारले पनि जनता हँसाउने काम गर्दैछ, यो कस्तो रमिता हो?’ सरकारले गलत तथ्यांक दिएर जनतालाई ढाँटेको आरोप पनि रिजालले लगाए। उनले ४० दिनमै सरकारले थप ८०० किलोमिटर सडक बनाएको भन्दै कटाक्ष गरे।

‘४० दिन अगाडि ८०० किलोमिटर सडक पिच गरेको भन्ने सरकार ४० दिनपछि १६०० किमि सडक बनाउँछ’, रिजालले कटाक्ष गर्दै भने, ‘४० दिनमै ८ सय किलोमिटर सडक पप्पु कन्ट्रक्सनले बनायो कि क्या हो?’ सरकारले नीति तथा कार्यक्रममा २५ खर्ब भन्दा धेरैका सपना बाँडेको पनि आरोप लगाए।

Loading...