लोपोन्मुख अवस्थाको भैरव नाचको तयारी पूरा

भक्तपुर, १६ साउन । पैंतालीस वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेको मल्लकालीन लाय्कू भैल ः अर्थात भैरव नाच यसवर्ष आगामी २५ गते बुधबारदेखि शुरु हुनेभएको छ ।

मध्यपुरथिमिको लायकू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गनलगायत विभिन्न टोलमा चार दिनसम्म अपरान्हदेखि रातिसम्म सञ्चालन हुने भैरव नाचको तयारी पूरा भएको लायकू भैलः सञ्चालन समितिले आज जानकारी दिएको छ ।

विगत दुई वर्षदेखि यहाँको युवाको सक्रियतामा पुनः सञ्चालनमा आएको तान्त्रिक एवं ऐतिहासिक भैरव नाच भाद्र कृष्ण द्वितीया (गुंलागा द्वितीया) देखि २८ गते पञ्चमीसम्म मनाइने नाच सञ्चालन एवं व्यवस्थापन समितिका संयोजक एवं गुरु अर्जुन श्रेष्ठले जानकारी दिए ।

भैरव दुई, दाःगि अर्थात कुमारी दुई, र ज्यापूँग एक गरी पाँचजना देवगण रहने लायकू भैरः नाचमा यसवर्ष नाचका न्हापा भैलः भएर मानिस भाग्यो श्रेष्ठ, लिपा भैलः भएर मुकेश नानी श्रेष्ठ, न्हापा दागीं भएर सुविन माकँ श्रेष्ठ, लिपा दागीं भएर सुसन सिनारी श्रेष्ठ र ज्यापुगं भएर किरण जामनः श्रेष्ठले तान्त्रिक विधिअनुसार भैरव नाच प्रस्तुत गर्नेछन् ।

भैरवले खड्ग, कुमारीले डमरु र ज्यापूँगले ज्यापूँग अर्थात कपालको बिंया, अक्षता, ताय् भएको भाँडो, हातमा लिएर विभिन्न तालमा विभिन्न हाउँभाउँ प्रस्तुत गर्दै नाच्ने परम्परा रहेको छ ।

नाचको क्रममा भैरव र कुमारीले बेलाबेलामा क्रोधित भएर नाच्ने र ज्यापुंगले शान्त बनाउने गर्दछन् भने नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई सुर ताल दिने संयोजक श्रेष्ठले जानकारी दिए ।

शास्त्रीय एवं तान्त्रिक विधिको प्रयोग गरी देव गणको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा हरेको श्रेष्ठको भनाइ रहेको छ । उनीहरूलाई तीन सातादेखि प्रत्येक दिन साँझ नाच प्रदर्शनका लागि प्रयोगात्मक प्रशिक्षण दिइरहेको छ ।

नाच सञ्चालनका लागि करिब सात लाख लाग्ने अनुमान गरिएको बताउँदै मध्यपुरथिमि नगरपालिका, दाता र स्थानीय बासिन्दाको सहयोगमा नाच चल्दै आएको छ ।

धांः बाजाको विभिन्न ३० देखि ३२ तालमा नचाउने यस नाच विभिन्न टोल तथा देवालयमा दुईदेखि तीन तालसम्म मात्र नचाइने चलन छ भने नृत्यनाथ (नसःद्य)को प्रांगणमा भने नचाउन अनिवार्य छ ।

मन्त्रोचारण गरी नाच निकाली सकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नुपर्ने प्रावधान रहेको छ ।

प्राचीनकालमा मध्यपुर थिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिसाचले दुःख हाहाकार मच्चाएका थिए । त्यसबाट मुक्ति पाउनका लागि लाय्कूका सञ्चालक सक्रिय भएर शास्त्रका विज्ञ, तान्त्रिक र विद्धानसँग छलफलअनुसार स्थानीय मानिसमा तान्त्रिक विद्यामार्फतबाट मानिसको शरीरमा भैरव, कुमारीको शक्ति प्रवेश गराई क्रोधित मुद्रामा टोलटोलमा नचाएपछि भूतप्रेत टिक्न नसकेकाले त्यसपछि यो नाच चल्दै आएको किम्बदन्ती रहेको गुरु श्रेष्ठ एवं यहाँका अन्य बासिन्दाले जानकारी दिए ।

संयोजक श्रेष्ठले गतवर्ष लाय्कू भैलः सञ्चालन गर्दा भएको आम्दानी १० लाख ९३ हजार १६१ र खर्च १० लाख ६४ हजार ६६१ रहेको जानकारी दिँदै यसवर्ष पनि सहयोग संकलन सुरु गरिएको बताए ।

मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमिका कला, संस्कृति एवं ऐतिहासिक धरोहरका रूपमा रहेको यस्ता पर्व सञ्चालनका लागि सक्दो सहयोग गर्ने बताए ।

Loading...