मध्यरातमा युवतीको कोठाको ढोका फोड्ने कांग्रेस नेता यसरी परे प्रहरी फन्दामा

काठमाडौं, १६ वैशाख । प्रहरीले नेपाली कांग्रेस नुवाकोटका नेता रमेश अर्याललाई बलात्कारको अभियोगमा काठमाडौंबाट पक्राउ गरेको छ ।

चैत २२ गते शुक्रबार मध्यराति गोंगबुमा डेरा लिएर बस्दै आएकी युवतीको कोठामा ढोका फोडेर प्रवेश गरी बलात्कारको प्रयास गरेपछि युवती र छिमेकीले प्रहरी बोलाएर पक्राउ गर्न लगाएका थिए ।

महानगरीय प्रहरी वृत महाराजगञ्जका प्रहरी निरीक्षक प्रकाश थापाले गोंगबुमा डेरा गरी बस्ने एक युवतीको कोठाबाट अर्याललाई मध्यराति १२ बजे ढोका फोरेर प्रवेश गरी बलात्कारको प्रयास गरेको सूचनाको आधारमा स्थानीयबासीको सहयोगमा पक्राउ परेको जानकारी दिएका छन् ।

युवतीको मौखिक जाहेरीका आधारमा प्रहरीले मध्यरातमै अर्याललाई प्रकाउ गरी अनुसन्धान गरिरहेको र अब अदालतमा मुद्दाको सुनुवाइ हुने प्रहरी निरीक्षक थापाले बताए ।

युवतीले अर्यालसँगै नुवाकोटकै राजु श्रेष्ठको नाममा समेत किटानी जाहेरी दिएकी छिन् । अर्याल र ती युवतीबीच सम्बन्ध रहेको र दुबैबीच खटपट भएपछि बलात्कारको आरोप लगाइएको अर्यालका साथीहरूको दाबी छ ।

‘युवती र अर्यालबीच लामोसमयदेखि राम्रो सम्बन्ध थियो । कोठामा बेलाबेला उनीहरू सँगै बस्ने र खाने गर्थे’, अर्यालका एकजना साथीले भने, ‘उनीहरूका बीच कुरा बिग्रिएपछि युवतीले बलात्कारको आरोप लगाएकी छिन् । महिलालाई कानूनले पनि सजिलो बनाइदिएको छ ।’

कांग्रेस नेता अर्यालले आफूलाई कुटपिट गरेको ती युवतीले प्रहरीमा बयान दिएकी छिन् । अर्याल नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीका खास नेता मानिन्छन् । केसीले नै अर्याललाई जिल्ला कार्यसमितिमा आमन्त्रित सदस्य बनाएका थिए ।

Loading...