भरतपुर १९ मा फेरि मतदान गराउन सर्वाेच्चकाे अादेश

काठमाडौं, १५ साउन । सर्वाेच्च अदालतले चितवनको भरतपुर महानगरपालिका यसअघि स्थगित गरिएकाे मतगणनाका सम्बन्धमा फैसला सुनाएकाे छ । लामाे समयकाे बहसपश्चात सर्वाेच्चले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन: मतदान गराउन सर्वाेेच्चले अादेश गरेकाे छ ।

भरतपुर १९ मा गणनाका क्रममा मतपत्र च्यातिएका कारण मतगणना प्रक्रिया अवरुद्ध भएकाे थियाे । साेही मुद्दालार्इ किनारा लगाउन अाइतबार राखिएकाे इजलासले फैसला सुनाएर साे ठाउँमा पुन मतदान गर्न अादेश गरेकाे छ । लामो समयदेखि पुनः मतदान कि मतगणना भन्ने विवादले अन्योलग्रस्त बनेको विषयमा लामो बहसपछि सर्वोच्चले अाइतबार टुंगो लगाएको हो । करिब दुई महिना लामो सुनुवाईपछि आइतबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनः मतदान गर्न आदेश दिएको हो । सर्वोच्च अदालतले यसअघि निर्वाचन आयोगले गरेको पुनःमतदानकै निर्णयलाई सदर गर्ने फैसला सुनाएको हो। भरतपुर महानगर वडा नम्बर १९ का सम्पूर्ण मतपत्र अवैध घोषित गर्दै निर्वाचन आयोगले पुनः मतदान गर्ने विषयमा गरेको निर्णयलाई सदर गरेको हो ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ ले मतपत्र च्यातिएको अवस्थामा पुनः मतदान गर्नुपर्ने कानुनी व्यवस्था अनुसार सर्वोच्चले फैसला गरेको हो । ऐनको दफा ४९ मा उक्त व्यवस्था समेटिएको छ।

निर्वाचन ऐन दफा ४९ को (१) मा भनिएको छ, ‘मतगणना पूरा हुनुभन्दा पहिले कुनै मतदान केन्द्रमा प्रयोग गरिएको मतपत्र, मतपत्र रहेको मतपेटिका निर्वाचन अधिकृतको यिन्त्रणबाट गैरकानुनी तवरले अन्यत्र लगिएमा वा खोलिएमा वा नोक्सान गरिएमा वा तोडफोड गरिएमा वा हराएमा वा दुर्घटनावश नोक्सान भएमा निर्वाचन अधिकृतले मतगणनाको काम स्थगित गरी त्यसको प्रतिवेदन आयोगलाई तुरुन्त दिनु पर्नेछ।’

४९ कै उपदफमा भनिएको छ, ‘उपदफा (१) बमोजिम मतगणनाको काम स्थगित गरिएपछि आयोगले त्यस्तो मतदान केन्द्रको सम्पूर्ण मतदान अवैध भएको घोषणा गर्नेछ र आयोगको निर्देशनमा निर्वाचन अधिकृतले त्यस्तो मतदान केन्द्रमा पुनः मतदान गर्ने स्थान, मिति र समय यथाशिघ्र तोकी सूचना प्रकाशन गर्ने छ।’

भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)की मेयर उम्मेदवार रेणु दाहाल र एमालेका यर उम्मेदवार देवी ज्ञवालीबीच चर्को प्रतिस्पर्धा हुँदै गर्दा मतगणना स्थगित भएको थियो।

निर्वाचन आयोगले पुनः मतदान गर्न दिएको आदेश विरुद्ध भरतपुर-१९ मा एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेपछि मुद्दामा अदालतले हाललाई जे जस्तो अवस्थामा छ सो अवस्थाबाट अगाडि नबढाउनू भनी आदेश दिएपछि प्रक्रिया रोकिएको थियो। त्यसपछि पटक पटक पेशी तोक्दै आएको अदालतले आइतबार मात्र फैसला गरेको हो।

के भएको थियो जेठ १४ मा ?
जेठ १४ को मध्यरात पौने १२ बजे भरतपुर-१९ को मतगणना हुँदै थियो। दुई हजार ८९७ मत खसेको मध्ये एक हजार ८०९ मत गनेर सकिएको थियो। यसमा ज्ञवालीले ४१ हजार ६४१ तथा दाहालले ४० हजार ९०८ मत ल्याएका थिए। उनीहरुको मतान्तर ७३३ थियो। उक्त वडामा एक हजार ८०९ मत गन्दा दाहालले ५१ मत बढी ल्याएकी थिइन्। करिब एक हजार र केही मत गन्न बाँकी थियो। अनि भरतपुर २० को तीन हजार ३०२ मत गन्न बाँकी नै थियो।

रातभर गनेर भोलिपल्ट बिहान गणतन्त्र दिवसमा घोषणा गरिने तयारी थियो। एकाएक राति पौने १२ बजे मतपत्र च्यातिएपछि मतगणना रोकियो जसमा ९० मत च्यातिएको पाइएको थियो।

Loading...