एनआरएनएका अध्यक्ष भट्टबाट उद्योगमन्त्रीले लिएनन उपहार, प्रम ओली र उद्योगमन्त्रीबीच ‘सकेको गर्ने’सम्मको भनाभन

काठमाडौं, १५ चैत । लगानी सम्मेलनको उद्घाटन शत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आयोजकले प्रदान गरेको उपहार अस्वीकार गरेसँगै सरकारभित्रको विवाद बाहिर आएको छ ।

सम्मेलनको उद्घाटन शत्रमा मन्त्री यादवमाथि अपमान गरिएको चर्चाले पनि बजार पाएको छ । विगतमा यस खालको सम्मेलन हुँदा उद्योगमन्त्रीहरुलाई नै भूमिका दिइने गरिन्थ्यो । तर, यसपटक प्रधानमन्त्रीले सुरुदेखि नै मन्त्री यादवको भूमिका नजोडेर सबै प्रक्रिया अगाडि बढाएको बताइन्छ । यतिसम्म कि शुक्रबार गरिएको उद्घाटन शत्रमा मन्त्री यादवका लागि मन्त्रीहरुको लहरमा बस्ने सिट नै राखिएको देखिएन । उद्घाटन शत्रमा मन्त्रीहरु बस्ने लहरमा पुगेका यादव आफ्ना लागि कुर्सी नै नपाएपछि पछाडि पत्रकारहरु बस्ने लहरमा गएर बसे । जबकि यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधामन्त्री भएको बेला गरिएको लगानी सम्मेलनमा अर्थमन्त्री रामशरण महतलाइ भन्दा उद्योगमन्त्री नविन्द्रराज जोशीलाई बढी भूमिका दिइएको थियो । तत्कालीन उद्योगमन्त्री जोशी प्रधानमन्त्री, अर्थमन्त्री सहित मञ्चमै बसेका थिए । तर, यसपटक भने मन्त्री यादवलाइ मञ्चमा ठाउँ त दिइएन नै हलको अगाडिको लहरकाे अरु मन्त्रीहरु बसेका ठाउँमा पनि आफूलाई ठाउँ नराखिएको थाहा पाए । त्यसपछि उनी पत्रकार बस्ने दिर्घामा गएर पछाडि बसे ।

त्यसैको असन्तुष्टि स्वरुप मन्त्री यादवले उदघाटन शत्रको अन्तिममा लगानी बोर्डले दिएको उपहार अस्वीकार गरेका हुन् । लगानी बोर्डले मन्त्री यादवलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टमार्फत उपहार प्रदान गरेको थियो । तर, यादवले ‘म लिन्न’ भन्दै उपहार अस्वीकार गरे ।

आखिर खास विवाद के हो ?

मन्त्री यादव लगानी सम्मेलनकाे उदघाटन शत्रमा आफूलाई गरिएको अपमानका कारण मात्र आयोजकले दिएको उपहार नलिने निर्णयमा पुगेका होइनन । विगत लामाे समयदेखि उनका मनभित्र ठूलै आँधी उत्पन्न भएको देखिन्छ । उद्योग मन्त्रालयको उच्च स्रोत अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र उद्योगमन्त्री यादवका बीच केही समय अगाडिदेखि नै विवाद र घोचपेच चल्दै आएको छ ।

स्रोतका अनुसार यसरी नै मनमुटाव बढेपछि चार दिन अघि अर्थात सोमबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगमन्त्री यादवको राजिनामा नै मागेका थिए । धेरै खटपट भएपछि प्रधानमन्त्रीले राजिनामा माग्दा मन्त्री यादवले ‘तपाई जे गरे गर्नुस म राजिनामा दिन्न’ भनेको उच्च स्रोतले ननस्टपखबरलाई जानकारी दियो । त्यसपछि उनीहरुबीच झन खटपट बढेको देखिन्छ । मन्त्री यादवले सोमबार प्रधानमन्त्रीलाई आफूले राजिनामा दिनुपर्ने कारण सोध्दै आफूले राजिनामा नदिने बरु ‘यो अधिकार सबै प्रधानमन्त्रीकै भएकोले अधिकार प्रयोग गरेर आफूलाई मन्त्रीबाट हटाउन चुनौती समेत दिएका थिए ।

स्रोतका अनुसार लगानी सम्मेलन भन्दा पहिलेदेखि नै प्रधानमन्त्रीले आफ्नो मन्त्रालयमा गरेको हस्तक्षेपप्रति मन्त्री यादव असन्तुष्ट बनेका हुन् । उद्योग मन्त्रालय मातहतको औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष नियुक्ति गर्दा उद्योग मन्त्री यादवलाई केही पनि थाहा नपाएर प्रधानमन्त्रीले नन्दबहादुर बस्नेतलाई नियुक्त गरेर पठाइदिएपछि उनी चिढिएका थिए । लिमिटेडको अध्यक्ष नियुक्ति उद्योगमन्त्रीले प्रस्ताव लगेर मन्त्रिपरिषदले पारित गरेपछि हुने हो । सो नभएर प्रधानमन्त्रीले जानकारीसम्म नै नदिएर आफूमातहतको एउटा प्रतिष्ठानको अध्यक्ष नियुक्ति गरिएको जानकारी पाएपछि मन्त्री यादवले केही दिनसम्म बस्नेतलाई नियुक्ति नै दिएनन । त्यसपछि प्रम ओलीले पार्टी अध्यक्ष प्रचण्डलाई प्रयोग गरेर आफ्नो निर्णय कार्यान्वयन गरेरै छाडे र लिमिटेडमा नन्दबहादुर बस्नेत अध्यक्ष भए । त्यो बेला प्रचण्डले मन्त्री यादवलाई धेरै सम्झाएको स्रोतको दावी छ ।

तर, त्यसपछि मन्त्रालय मातहतका विभिन्न निकायका कर्मचारीहरुको सरुवामा पनि प्रधानमन्त्रीले आफ्नो मनपरी गर्ने क्रम सुरु हुन थाल्यो । यसले मन्त्री यादव निकै आक्रोशित पनि बने । तर, पहिले पहिले एक एलडिओलाई शौचालयमै थुनेर चर्चामा अाएका निकै झोक्की स्वभावका उनी यसपटक भने सकेसम्म मिलाएर काम गर्ने मनस्थितिमा थिए । ती सबै कुरा पचाउँदै अगाडि बढ्दा पनि लगानी सम्मेलनको तयारीमा आइपुग्दा परिस्थिति बिग्रिएकाे हाे । लगानी सम्मेलनको तयारीका क्रममा प्रधानमन्त्रीले यादवलाई कुनै काममा नजोडेपछि उनी रुष्ट बने । त्यसपछि शुक्रबार सम्मेलनको उद्घाटन शत्रमा समेत उनले अपमानित महशुस गरे । सोही कारण उनले आयोजक लगानी बोर्डले दिएको उपहार अस्वीकार गरेको उनी निकट स्रोतले जानकारी दियो ।

लगानी सम्मेलन उदघाटन हुने एक दिन अघि बिहीबार त प्रधानमन्त्री र मन्त्री यादवबीच सार्वजनिक मञ्चमै घोचपेच भएको थियो । लगानी सम्मेलनको अघिल्लो दिन बिहीबार अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार मेलाको उद्घाटनमा प्रधानमन्त्री ओली र मन्त्री यादवबीच घोचपेच चलेको थियो ।

भृकुटीमण्डपमा आयोजित मेलाको उद्घाटनमा पुगेका प्रधानमन्त्री ओलीले मन्त्री यादवतर्फ हेर्दै भनेका थिए, ‘धेरै कैँची चलाउन जान्ने मान्छे त उहाँ होइन, तैपनि रिवन काट्ने कामसम्म भने गर्नुस् भनेको छु मैले ।’ त्यो सम्वोधन निकै सांकेतिक थियो । त्यति भाषण सकेर प्रधानमन्त्री ओली कार्यक्रमबाट हिडे ।

प्रधानमन्त्री हिडेपछि आफ्नो बोल्ने पालो आउँदा उद्योगमन्त्रीले त्यसअघि प्रमले भनेको कुराको खण्डन नै गरे । सम्बोधनका क्रममा प्रधानमन्त्रीले अघि भनेकाे कुराकाे जवाफ फर्काउँदै यादवले भने, ‘राम्रो कामको लागि कैँची चलाउन त जान्नपुर्यो , उद्घाटन गर्ने काम पनि कैँचीले नै काट्ने हो’ उनले भने, ‘अर्को कैँचीले पकेट पनि काट्ने हो । राम्रो कामका लागि कैँची चलाउनै पर्छ भन्ने हाम्रो आग्रह हो ।’ यसरी प्रधानमन्त्री ओली र उद्योगमन्त्री यादवबीच चलेको जुहारीले लगानी सम्मेलनलाई नै विवादमा तानेको छ ।

 

Loading...