ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालको निवासमा प्रहरीले छापा मार्यो

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालको निवासमा प्रहरीले छापा हानेर खानतलासी गरेको छ । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित मानवअधिकार परिषदमा ग्रेटर नेपालको वकालत गरेर फर्केका उनको चाबहिलस्थित निवासमा पुगेर प्रहरीले खानतलासी गरेको हो ।

बिहीबार बिहान ७ जनाको प्रहरी टोलीले मध्ये दुई जनाले छापा मारेको नेपालका छोरा सुरोत्तम नेपालले बताएका छन् । बुबा घरमा नभएको भनेपछि दुई जना प्रहरी घरभित्र पसेर छतसम्म पुगेको उनले बताए ।

एकजना सादा पोशाकका र अर्को १ जना बर्दीधारी गरी दुई जना प्रहरीले नेपालको घरमा प्रवेश गरी फणीन्द्र नेपाल खै भन्दै जबरजस्ती घर भित्र प्रवेश गरेका थिए ।दुई जनाले खानतलासी गरेलगगत्तै फेरि अरू ६ जना पनि घरभित्रै गर्न खोजेपछि खानतलासी पुर्जी नभई प्रवेश गर्न नदिने भनेपश्चात् प्रहरीहरु फर्किएको सुरोत्तमले बताए ।

नेपालले बिहीबार भारतीय विदेश सचिव विजय गोखले नेपाल आउँदा सांकेतिक विरोध गर्ने तयारी गरेका थिए । यसअघि पनि उनले भारतबाट उच्चस्तरीय भ्रमणहरु हुँदा एयरपोर्टमा कालो झण्डा देखाउने गरेका थिए । अघिल्लोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुअगाडि उनलाई प्रहरीले निवासबाहिरबाटै पक्राउ गरेको थियो ।

नेपालले आफू घरबाहिर रहेको बेला आज बिहान ८ बजे नेपाल प्रहरीका ६ जनाले घरमा पसेर सोधपुछ तथा खानतलासी गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् । खानतलासी र पक्राउ पूर्जी बिना घरभित्रै धरपकडको प्रयास गरिएको भन्दै उनले फेसबुकबाटै विरोध जनाएका छन् ।

उनले लेखेका छन् ।-‘म मेरो निवासबाहिर भएको बखत अहिले बिहान ८:०० बजेतिर नेपाल प्रहरीका ६ जना मलाई खोज्दै चाबहिल स्थित मेरो निवास पुगेको र घरमा सोधपूछ गर्दा मेरो छोरा र श्रीमतीले म घरमा नभएको बताउँदा पनि घरभित्रै पसेर खानतलासी गरेको सुन्दा मलाई दुःख लागेको छ । खानतलासी र पक्राउ पुर्जी बिना यस किसिमले घरभित्रै पसेर धरपकडको प्रयास गर्नु कति उचित हो ?’

‘ उनले अगाडी लेखेका छन्- ‘भारतीय विदेश सचिवको काठमाडौं अनामनमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विरोधको विज्ञप्ति जारी गरेको र मैले मेरो फेस बुकमा राखेको स्ट्याटसलाई आधार बनाएर गरिएको यस किसिमको प्रहरी क्रियाकलापले नागरिकको वाक् तथा प्रकाशन स्वतन्त्रताको हनन भएसँगै मेरो मानवअधिकार अधिकारको पनि हनन भएको छ । म सरकारले यस्तो आतंक बन्द गरोस् भन्ने आग्रह गर्दछु । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका साथीहरू संयमित रहनुहुनेछ ।’

नेपालले हिजो फेसबुकमा स्टाटस लेख्दै गोखलेको भ्रमणको कसरी र कुन शैलीमा विरोध गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाएका थिए । नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार बर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान सञ्चालान गर्दै आएका छन् ।

यस्ताे छ स्टाटस

Loading...