काठमाडौं । दुबै मृगौला फेल भएर राजधानीको किडनी अस्पतालको आइसियुमा भर्ना गरिएका विद्यार्थी नेता कालीबहादुर मल्लको सहयोगका लागि जाजरकोटको एक गाउँपालिकाले सहयोग गर्ने घोषणा गरेको छ ।
जाजरकोटको कुशे गाउँपालिकाले मृगौला पीडित विद्यार्थी नेता मल्लको उपचारको लागि पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो । कुशे गाउँपालिका प्रमुख हरिचन्द्र बस्नेतले पीडितका परिवारलाई सो जानकारी गराएका छन् । विद्यार्थी नेता मल्ल सोही गाउँपालिकाको वार्ड नं. ५ दम्दाला निवासी हुन् । लामो समयदेखि मृगौला रोगबाट पीडित मल्ल आर्थिक अभाव र समाजसेवामा लागेका कारण आफ्नो उपचार गर्न सकेका थिएनन ।
पाँच महिना अघि नै चिकित्सकले डाइलासिस गर्नुपर्ने भने पनि मल्लले उपचार गर्न सकेका थिएनन । ३१ वर्षका मल्ल जुझारु क्रान्तिकारी विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए । जाजरकोटी कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय सशक्त युवा नेताका रुपमा देखिएका मल्ल एक वर्षदेखि मृगौला रोगबाट पीडित भएका हुन् । चिकित्सकका अनुसार उनको दुबै मृगौला ८० प्रतिशत पनि काम गर्न नसक्ने अवस्थामा पुगेका छन् । केही महिना पहिले वीर अस्पतालमा जाँच गर्दा मृगौला रोगका लागि परिक्षण गरिने क्रिटीनाइन इन्डिकेटर ५ रहेकोमा मंगलबार फेरि चेक गराउँदा बढेर १५ पुगेको पाइएको छ । यो निकै क्रिटिकल अवस्था भएको उनको उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिएका छन् ।
स्वास्थ्य अवस्था निकै गम्भीर बनेपछि उनलाई काठमाडौं अस्पतालको आइसियु कक्षमा राखिएको छ । उनको मंगलबार आइसियुमा राखेर डाइलाइसिस गरिएको छ । मल्लले सधै पार्टी र आन्दोलनका लागि दिन रात खट्दा अहिले स्वास्थ्यमा खराबी आएको बताए ।
मृगौलामा केही समस्या देखिए पनि कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्दा अहिले गम्भीर अवस्था आएको उनले बताए । चिकित्सकका अनुसार उनको दुबै मृगौला प्रत्यारोपण गर्नुपर्छ । त्यसका लागि ठूलो रकम लाग्ने बताइन्छ । उनको उपचारमा लागेका मल्लका भाइ टेकराज मल्लले आफ्ना दाजुको मृगौला प्रत्यारोपणका लागि सहयोग गरिदिन देशविदेशमा रहेका सबै नेपालीहरुलाई आग्रह गरेका छन् । उनले पछिल्लो समय संसारभर छरिएर रहेका नेपालीहरुकै सहयोगका कारण धेरै नेपालीहरुको ज्यान जोगिएको भन्दै राष्ट्रका लागि योगदान गरेका आफ्ना दाजुलाई पनि सहयोग जुट्ने आशा गरे । त्यसका लागि सहयोग अभियान थालिएको छ ।