किम जोङ उनका सौतिनी दाइलाई विषालु पदार्थ दलेर हत्या गर्ने आरोपी थुनामुक्त

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाइ किम जोङ नामको हत्या गरेको आरोपमा थुनामा रहेकी इन्डोनेसियाकी एक महिलालाई सोमबार रिहा गरिएको छ ।

इन्डोनेसियाकी नागरिक सिती अल्स्यानविरुद्ध दर्ता गरिएको मुद्दा फिर्ता भएकाले मलेसियाबाट उनलाई रिहा गरिएको अधिकारीहरूले जनाएका छन् ।

सन् २०१७ को फेब्रअरीमा क्वालालम्पुर विमानस्थलमा किम जोङ नामको मुखमा “भीएक्स नर्भ एजेन्ट” भनिने विषालु पदार्थ दलिदिएको आरोपमा उहाँ र अर्की भियतनामकी महिला डोन थी हौङलाई थुनामा राखिएको थियो ।

लामो समयपछि अल्स्यानको मुद्दामा प्रतिवादी पक्षको सुनुवाइ शुरु हुन लागेकै बेला मुद्दा फिर्ता भएको हो । सो मुद्दा हेरिरहेका अभियोजनकर्ताले कुनै कारण स्पष्ट नपारी सिती अल्स्यानविरुद्धका मुद्दाहरू फिर्ता गर्न अनुरोध गरेका थिए ।

इन्डोनेसियाका कानूनमन्त्रीलाई पठाइएको एउटा पत्रमा मलेसियाका महान्यायाधिवक्ताले दुई देशबीचको सुमधुर सम्बन्धमा असर नपार्नका लागि मुद्दा फिर्ता लिइएको उल्लेख गरेका छन् ।

सरकारी अभियोजनकर्ताको आग्रह अनुसार न्यायाधीशले मुद्दा फिर्ता लिन स्वीकार गरे पनि अल्स्यानलाई लागेको आरोपबाट सफाइ भने दिइनसकिएको अधिकारीहरूले बताएका छन् ।

इन्डोनेसियाकी अल्स्यान र भियतनामकी हौङ दुवैले हत्याको आरोप अस्वीकार गर्दै आएका छन् । उनीहरूले एउटा टीभी कार्यक्रमका लागि आफूहरू त्यहाँ गएको बताउँदै आएका थिए ।

सोमबार हौङको बयान हुन लागेको थियो । अल्स्यानको मुद्दा फिर्ता भए पनि हौङको बयान भने पछाडि सारिएको छ ।

मकाऊ जाने विमान कुरेर क्वालालम्पुर विमानस्थलमा बसेका बेला किममाथि आक्रमण भएको थियो । आक्रमणको २० मिनेटमै उनको मृत्यु भएको थियो ।

क्वालालम्पुर विमानस्थलको सीसीटीभी दृश्यमा एक महिला किमतिर गएको र विमानस्थलको प्रस्थान क्षेत्रमा दुई महिला गएको देखिएको छ । त्यसपछि उनीहरूमध्ये एक जनाले किमको अनुहारमा हात राखेको र दुवै जना तत्कालै त्यहाँबाट भागेको दृश्य भिडियोमा देखिएको अधिकारीहरूले बताएका छन् ।

Loading...