काठमाडौ, २७ फागुन। इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेर आइतबार अपरान्ह ज्यान गुमाउने १५७ जनामध्ये एकजना नेपाली युवती परेकी छिन् । दुर्घटनामा गोर्खा मुल घर भएकी एकता अधिकारीको निधन भएको छ ।
इथियोपियाको राजधानी अदिस अबावाबाट केन्याको राजधानी नैरोवीतर्फ उडेको विमान धावनमार्ग छाडेको केही बेरमै दुर्घटनाग्रस्त भएको थियो । इथियोपियास्थित राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रममा कार्यरत अधिकारी सोही विमानमा आफ्ना ४ सहकर्मीका साथ केन्याकोतर्फ औपचारिक काममा जाँदै थिइन् ।
विमान इटी ३०२ मा सवार सबै १५७ यात्रुको निधन भएको थियो । मृतकहरु बिभिन्न ३५ राष्ट्रका नागरिक रहेकोमा सबैभन्दा बढी केन्या र क्यानडाका छन् । मृतक एकताका बारेमा काठमाडौंस्थित सम्बद्ध परिवारलाई विश्व खाद्य कार्यक्रम मुख्यालयले जानकारी गराइसकेको बताइएकाे छ ।
एकता दई वर्ष अघिसम्म नेपालकै विश्व खाद्य कार्यक्रमसम्बद्ध रहेर काठमाडौंमा कार्यरत थिइन् । विशेषतः नेपालमा आएको २०७२ को भूकम्पपछिको विपतकाे स्थितिमा एकता विश्व खाद्यको ‘आपतकालिन राहत कार्यक्रम’मा संलग्न थिइन् ।