कोठाको भित्ताभरि रोनाल्डोका फोटो टाँस्थे चर्चित फुटबलर कालियन

चार वर्ष अघिसम्म फ्रेन्च खेलाडी कालियन म्बाप्पेको कोठाका भित्ताभरि नै रियल म्याड्रिड स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका तस्बिर देखिन्थे । १४ वर्षको उमेरमा कालियनले फुटबलमा आफ्नो आइडियल रोनाल्डोलाई बनाए । उनले धेरैपटक रोनाल्डोसँगै एकै क्लबबाट प्रतिस्पर्धा गरेको सपना देखिरहे । कुनै दिन रोनाल्डोसँगै खेल्ने सपनालाई कालियनले जारी नै राखे । नभन्दै उनको त्यो सपना अब वास्तविकतामा परिणत हुँदै छ । स्पेनिस क्लब रियल म्याड्रिडले मोनाकोको कालियन भित्रयाउने प्रक्रिया अगाडि बढाएको छ ।

रियलद्वारा विश्वकीर्तिमान रकम
मोनाकोका युवा स्ट्राइकर कालियनसँग सम्झौता गर्न रियलले मोनाकोसमक्ष विश्वकीर्तिमान रकम १६ करोड पाउन्ड राखेको छ । मोनाकोले रियलको सम्झौताबारे केही प्रतिक्रिया दिएको छैन । तर फ्रेन्च एजेन्सीहरूका अनुसार मोनाकोले सहजै प्रस्वाव स्विकार्नेछ । मोनाकोले त्यो रकम स्विकार्‍यो भने कालियन वर्तमान समयका सबैभन्दा महँगा फुटबलर बन्नेछन् । रियलबाट प्रस्ताव आउँदा कालियन उत्साहित देखिन्छन् ।

सपना पूरा हुँदै
पोर्चुगी स्ट्राइकर रोनाल्डोको खेल हेरेर फुटबल खेल्न थालेको कालियनले बताएका छन् । ‘सानै उमेरदेखि रोनाल्डोको खेल पछ्याइरहेको छु,’ उत्साहित हुँदै कालियनले भने, ‘रोनाल्डो मेरा आइडियल हुन् ।’ उनले आफ्नो कोठामा दुई दर्जनभन्दा बढी रोनाल्डोका तस्बिर राखेको जानकारी दिएका छन् । ‘मेरो कोठाको भित्तामा हेर्नुभयो भने दुई दर्जनभन्दा बढी रोनाल्डोका तस्बिर देख्नुहुनेछ, यसबाटै स्पष्ट हुन्छ कि म कसको फ्यान हुँ भनेर ?’ उनले भने, ‘मैले रोनाल्डोद्वारा उत्कृष्ट प्रदर्शन गरेका भिडियो थुप्रैपटक हेरेको छु ।’

दुई वर्षमै स्टार
दुई वर्षअघि कालियन मोनाकोसँग आबद्ध भएका थिए । १६ वर्ष ३ सय ४७ दिनकै उमेरमा उनले फ्रेन्च लिग वानमा सहभागिता जनाउने अवसर पाए । फ्रेन्च लिग वानमा कम उमेरमा माथिल्लो डिभिजन खेल्ने कीर्तिमान कालियनले बनाएका छन् । १७ वर्ष ६२ दिन हुँदा उनले मोनाकोबाट व्यक्तिगत पहिलो गोल गरे । यो पनि फ्रेन्च लिग वानकै रेकर्ड हो । गत मार्चमा उनले फ्रेन्च राष्ट्रिय टोलीबाट लक्जम्बर्गविरुद्ध डेब्यु गरे ।

फ्रेन्च लिगमा ४९ खेल
कालियनले अहिलेसम्म फ्रेन्च लिग वानमा ४९ खेलमा मात्र सहभागिता जनाएका छन् । पहिलो सिजनमा १४ खेलबाट उनले एक मात्र गोल गर्न सके । त्यसपछि सन् २०१६–१७ सत्रमा कालियनले जीवनकै उत्कृष्ट प्रदर्शन गरे । यस सिजनमा उनले ४४ खेलबाट २६ गोल विपक्षी पोस्टमा ठोके ।

Loading...