नेपालमा बढे इसेवामार्फत कारोवार गर्नेहरु

काठमाडौँ, १२ माघ । इन्टरनेट सेवा (इसेवा) बाट आर्थिक कारोवार गर्नेको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै आएको छ ।

नेपालमा पहिलोपटक इसेवा सञ्चालन गर्दै आएको हात्तीसारस्थित इसेवा प्रालि,का अनुसार ७५ लाख व्यक्तिले उक्त सेवा लिइरहेका छन् । कम्पनीका अध्यक्ष विश्वास ढकालले इसेवाको देशभर ४५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको बताए । इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको सङ्ख्या करीब १० लाख पुगेको छ ।

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाईजहाज तथा बसको टिकट, स्कूल कलेजको शुल्कलगायत दुई हजारभन्दा बढी सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ४९ बैंक तथा वित्तीय संस्था सदस्य छन् । बैंकबाट इसेवामा सहजै रकम पठाउन तथा इसेवाबाट बैंक खातामा रकम जम्मा गर्न सकिन्छ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक उक्त प्रालि दशौँ वर्षमा प्रवेश गरेको छ । प्रालिले सन् २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा शुरु गरेको थियो ।

इसेवा हाल मुलुकका हरेक कुनाकाप्चामा पुग्न सफल भएको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने यो सेवाले एक दशकको अवधिमा ठूलो फड्को मारेको इसेवा सूचना तथा सञ्चार शाखाका प्रतिनिधि माधव पाण्डेले बताए ।

Loading...