मलेसियामा सुल्तान अब्दुल्लाह नयाँ राजामा निर्वाचित

एजेन्सी । मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रूपमा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित भएका छन् । संवैधानिक राष्ट्रप्रमुखका रूपमा निर्वाचित सुल्तान मलेसियाको १६आँै राजा भएको अधिकारीहरूले जनाएका छन् ।

मलेसियामा राजा छनौटको अनौठो परम्परा छ । मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ । त्यही परम्परा अनुसार ५९ वर्षीय अब्दुल्लाह पहाङ राज्यबाट नयाँ राजा निर्वाचित भएका हुन् । राज्यद्वारा सञ्चालित समाचार संस्था बेर्नामाले जनाएनुसार यही जनवरी ३१ तारिखका दिन उनले पद बहाली गर्नेछन् ।

यसअघिका राजा सुल्तान मुहम्मद पाँचौले यही जनवरी ६ मा राजीनामाको घोषणा गरेपछि नयाँ राजा चयन गरिएको हो । मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले तोकिएको समयावअधि नसकिँदै राजीनामा दिने उनी पहिलो राजा हुन ।

उनले राजीनामा दिनु पर्नाको कारण अहिलेसम्म स्पष्ट पारिएको छैन । तर उनले रुसी पूर्वसुन्दरीसँग विवाह गरेकाले राजीनामा दिएको बताइएको छ ।

राजीनामाको घोषणा गर्नुअघि ४९ वर्षीय १५औँ राजा सुल्तानले केही सातादेखि बिदा लिएका थिए । उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो बिदा लिएका थिए । राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका थिए ।

नयाँ राजा अब्दुल्लाहका पिता सुल्तान अहमद शाहले ८८ वर्षको उमेरमा यही जनवरी ११ का दिन पद त्याग गरेपछि अब्दुल्लाह त्यस राज्यको सुल्तान बनेका थिए । अस्वस्थताका कारण देखाउँदै उनका पिताले पद त्याग गरेका थिए ।

नयाँ राजा अब्दुल्लाह खेलकूदमा अत्यधिक संलग्न व्यक्ति हुन । उनी आसियन फुटबल महासङ्घ परिषद् र फिफा परिषद्का सदस्य पनि भइसकेका छन् । साथै उनले मलेसिया फुटबल सङ्घको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका छन् ।

उनीसँगै पेराकका सुल्तान नज्रिन शाहलाई राज्य उपप्रमुखका रूपमा घोषणा गरिएको अधिकारीहरूले बताएका छन् । यसअघि पनि कार्यवाहक राजाको जिम्मेवारी सम्हालेका ६२ वर्षीय नज्रिनलाई उपप्रमुखको रूपमा फेरी पनि पाँच वर्षका लागि निरन्तरता दिइएको हो ।

सन् १९५७ मा ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएपछि यसरी छानिएका राजाहरू दैनिक प्रशासनिक काममा भने संलग्न हुँदैनन् । तर प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदमा हुने नियुक्ति भने राजाबाट हुन्छ ।

मलेसियाका राजा इस्लाम धर्मका प्रमुख र सशस्त्र सुरक्षा निकायहरूका पदेन प्रमुख हुने व्यवस्था रहेको छ । बहुसङ्ख्यक मुसलमानहरूले राजाले मलेसिया र इस्लाम धर्मको परम्परालाई एकताबद्ध राखेको विश्वास गर्छन् ।

अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिलाई क्षमादान गर्ने अधिकार पनि राजासँग छ । तर राजाको मानहानी हुने गरी आलोचना गर्नेलाई भने जेल सजाय पनि हुनसक्ने व्यवस्था रहेको छ ।

मलेसियाका १३ राज्यमध्ये नौ राज्यमा परम्परागत शासकहरू अर्थात् सुल्तान छन् भने बाँकी चार राज्यका गभरर्नर छन् । ती नौ राज्यका सुल्तानमध्येबाट चक्रीय प्रणालीमार्फत पाँच÷ पाँच वर्षका लागि राजा छान्ने परम्परा रहेको छ ।

प्रायः पालो कुरेर बसेका सुल्तान पालैपालो राजा हुन्छन् । अहिले राजा हुने पालो पहाङ राज्यका सुल्तानको थियो ।

राजा छान्न सबै सुल्तानलाई राजा हुने पालो भएको राज्यका सुल्तानको नाम लेखिएको मतपत्र दिइन्छ । अनि उनीहरूले नै गोप्य मतदानबाट ती सुल्तान राजा हुन उपयुक्त छन् कि छैनन् भनेर निर्णय गर्छन् ।

राजा निर्वाचित हुन नौमध्ये कम्तीमा पाँच मत अर्थात् बहुमत पाउनु पर्दछ । बहुमत नपुगेमा त्यसपछि पालो भएको राज्यका सुल्तानको नाममा यही प्रक्रियाबाट मतदान गर्ने परम्परा रहेको छ ।

Loading...