काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तस्बीर हेर्दा मुलुकमा निर्यातभन्दा उपभोग (आयात) को अवस्था डरलाग्दो देखिएको छ ।
गतवर्षको यसै अवधिमा नेपालबाट १०.१ प्रतिशत निर्यात थियो भने यस वर्ष एक दशमलव शून्य एक प्रतिशतले वृद्धि भई ११.२ प्रतिशत पुगेको छ । यद्यपि निर्यातको तुलनामा आयातको अंश २३ प्रतिशतले बढी हो ।
आव २०७४।७५ को मङ्सिरसम्ममा १८.२ प्रतिशत रहेको आयात वृद्धिदर यसै वर्षको पाँच महीनामा १६ प्रतिशतले वृद्धि भई ३४.२ प्रतिशत रहेको छ । नेपालीको उत्पादनभन्दा उपभोग गर्ने संस्कृतिमा वृद्धि भएकाले मुलुकको शोधानन्तर स्थिति कमजोर हुदै गएको हो ।
अर्थशास्त्री भवानी खनालका अनुसार मुलुकको अर्थतन्त्र राम्रो हुन आयात र निर्यातको अवस्था झन्डै बराबरी हुनुपर्ने बताउँछन । उनका अनुसार नेपालको अर्थतन्त्रमा निर्यातभन्दा आयात २३ प्रतिशतले बढ्नु भनेको दिगो विकासमा राम्रो सङ्केत होइन ।
वस्तुगत आधारमा चालू आवको पाँच महीनामा रु छ खर्ब सात अर्बको पेट्रोलियम पदार्थ, सवारी साधन तथा पार्ट्स, हवाइजहाज तथा पार्टपूर्जा, एम.एस.बिलेट, अन्य उपकरण तथा पार्टपूर्जा, तरकारी फलफूल, तथा चामललगायत अन्य खाद्यान्नको आयात बढेको छ भने निर्यात गर्न सकिने सम्भावनायुक्त कृषि क्षेत्रसमेत परनिर्भर छ ।
चालु आवको पाँच महीनामा रु ३७ अर्ब ५० करोडका वस्तुगत सामग्रीमा यार्न, जस्तापाता, कार्पेट, गेडागुडी, तयारी पोशाक, पश्मिना, जुटका सामान निर्यात भएको थियो । यस हिसाबले चालू आवको पाँच महीनामा मुलुकको व्यापारघाटा पाँच खर्ब ६९ अर्ब ५० करोड पुगेको छ ।
अहिले नेपालको वैदेशिक व्यापारघाटा ३६ दशमलव एक प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार मात्र देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी पछिल्लो पाँच महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा व्यापारघाटा बढेर पाँच खर्ब ६९ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा निर्यात–आयात अनुपात छ दशमलव दुुई प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त अनुपात सात दशमलव पाँच प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा कुल वस्तु आयात ३४ दशमलव दुुई प्रतिशतले बढेर छ खर्ब सात अर्ब रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८ दशमलव दुुई प्रतिशतले बढेको थियो । चालू आवको पाँच महिनामा कुल वस्तु निर्यात ११ दशमलव दुुई प्रतिशतले बढेर ३७ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० दशमलव एक प्रतिशतले वृद्धि भएकोे थियो ।
गन्तव्यका आधारमा भारततर्फ २० दशमलव सात प्रतिशत र अन्य मुलुकतर्फ तीन प्रतिशतले निर्यात वृद्धि भएको तथा चीनतर्फ ३० दशमलव सात प्रतिशतले कमी भएको प्रतिवेदनमा उल्लेख छ ।
वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, कार्पेट, गेडागुडी, तयारी पोसाक, पश्मिना, जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, रोजिन, छाला, जुत्ता र चप्पललगायतका वस्तुहरुको निर्यात घटेको छ ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ३१ दशमलव सात प्रतिशत, चीनबाट ४७ दशमलव सात प्रतिशत र अन्य मुलुकबाट ३३ दशमलव सात प्रतिशतले आयात बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्ट्स, हवाइजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, अन्य उपकरण तथा पार्टपुर्जा, तरकारी, फलफूल तथा चामललगायतका वस्तुको आयात बढेको छ । यसअवधिमा दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, सिमेन्ट, स्वास्थ्य उपकरण तथा औजारलगायतका वस्तुहरुको आयात भने घटेको छ ।
भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट गरिएको निर्यातमा कमी आएपनि अन्य सबै भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी, कञ्चनपुर नाकाबाट भएको आयात घटेको छ भने अन्य सबै नाकाबाट भएको आयातमा वृद्धि भएकोे छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पाँच महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक वार्षिक विन्दुगत आधारमा पाँच दशमलव तीन प्रतिशतले बढेको र आयात मूल्य सूचकांक १० दशमलव दुुई प्रतिशतले वृद्धि भएकोले व्यापारको शर्तमा चार दशमलव चार प्रतिशतले ह्रास आएकोे छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो शर्त पाँच दशमलव एक प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार कार्पेट,पश्मिना, तामाको पाता, कच्चा धागो, घ्यूलगायतका वस्तुहरुको मूल्य बढेको कारण निर्यात मूल्य सूचकांकमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थ, सवारीसाधन, टायर, ऊनीलगायतका वस्तुहरुको मूल्य बढेका कारण आयात मूल्य सूचकांकमा वृद्धि भएकोे हो । राष्ट्र बैंकको उक्त तथ्यांकले देशको मुद्रा दैनिक तीव्र रुपमा बाहिरिएको देखिएको छ । यसले डलर संचिति घटेको छ ।
विगतमा रेमिट्यान्सले डलर संचितिलाई भरथेग गरेपनि यसवर्ष रेमिट्यान्स कम भित्रिदा अर्थतन्त्र क्रमशः संकटमा पर्दै गएको छ ।