इन्डोनेशिया सुनामीमा मृत्यु हुनेको सङ्ख्या ३७० भन्दा बढी

एजेन्सी । इन्डोनेशियामा शनिबार भएको ज्वालामूखी विष्फोटपछि आएको सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार ३७३ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले जनाएको छ ।

सुनामीका कारण दक्षिणी सुमात्रा तथा पश्चिमी जाभा क्षेत्रमा परेर हराउने सङ्ख्या १२८ रेकर्ड गरिएको उक्त संस्थाले बताएको छ ।

शनिबार राति एकाबिहानै इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएको र त्यसलगत्तै सुनामी आएको हो ।

सोही कारण पनि हराइरहेका व्यक्तिको सङ्ख्या अझै यकिन हुन सकिरहेको छैन । सुनामीका कारण मृत्यु भएका तथा घाइतेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

शक्तिशाली सुनामीका कारण ठूलो क्षति भएको अधिकारीले जनाएका छन् । समुद्री तट नजीकको वस्तीको वरपरका सयौँ घर भत्किएका छन् । ती क्षेत्रमा रहेका अन्य भौतिक संरचना पनि ढलेका छन् ।

यसबाट सबैभन्दा धेरै पाडेलाङ, दक्षिण लाम्पुङ र सेराङ नामका क्षेत्रमा अन्यत्रभन्दा बढी क्षति पुगेको सरकारी अधिकारीले बताएका छन् । भौगर्भिक अधिकारीले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसका कारण समुद्रमुनिको जमिनमा पहिरो गएकोले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् ।

श्रीलङ्कामा बाढीका कारण ६० हजार प्रभावित

श्रीलङ्कामा आएको अधिक बर्षा र बाढीका कारण ६० हजार भन्दा बढी प्रभावित भएका छन् ।

देशको उत्तरी क्षेत्रमा बर्षापछि आएको बाढीले धेरैलाई विस्थापित समेत गराएको प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरूले सोमबार जनाएका छन् ।

प्रभावित मध्ये ११ हजार जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ भने अरुलाई पनि खोजी तथा उद्धार गरिएको अधिकारीहरूको भनाई छ ।

सोमबार बर्षा रोकिएपछि मौसमी अवस्था सामान्य भएको छ । तर स्थानीयबासिन्दा भने फेरि बर्षा हुनसक्ने र बाढी आउने डरले प्रभावित क्षेत्रमा बस्न मानेका छैनन् ।

बाढीले सवैभन्दा धेरै मुल्लाइतीभु, किल्लीनोच्ची, मान्नार, भाभुनिया र जफ्नामा असर पारेको समाचारमा जनाइएको छ ।

खोजी तथा उद्धारमा खटिएका अधिकारीहरूले अहिले सम्म कुनै मानवीय क्षति तथा घाइते भएको खबर नआएको बताएका छन् ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निर्देशनपछि सेना तथा प्रहरीलाई उद्धार तथा राहत वितरणका लागि घटनास्थलमा खटाइएको छ ।

प्रभावितहरूलाई पर्याप्त राहत तथा सहयोग प्रदान गर्न कुनै कन्जुस्याई नगर्न पनि राष्ट्रपति सिरिसेनाले निर्देशन दिएका छन् ।

प्रकोप व्यवस्थापन अधिकारीहरूले भने बाढीका कारण भौतीक संरचनामा भएको क्षतिको विवरण संकलन भइरहेकाले विवरण सङ्कलन भएपछि उनीहरूलाई दिने राहत तथा क्षतिपूर्तीको व्यवस्था गरिने बताएका छन् ।

Loading...