काठमाडाैं । यो साता चर्चित नेताको नाममा आउने ‘गुगल खोजको नतिजा’ले भारत, अमेरिका र पाकिस्तानमा चर्चा पाएको छ । ‘गुगल सर्च इन्जिनामा ‘इडियट’ खोजी गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ‘भिखारी’ सर्च गर्दा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको नाम आउने गरेको छ ।
बुधबारदेखि भारतमा पनि यस्तै किसिमको कुराले चर्चा पाएको छ । ‘बार गर्ल इन इण्डिया’ वा ‘इटालियन बार गर्ल’ गुगल गर्दा कांग्रेस अध्यक्ष राहुल गान्धीकी आमा सोनिया गान्धीलाई देखाउने गरेको छ ।
गुगल ट्रेन्डसका अनुसार १९ डिसेम्बरमा दिन भारतमा अत्याधिक मात्रामा बार गर्ल इन इण्डिया सर्च भएको पाइएको छ । भारतको उत्तराखण्ड, झारखण्ड, छत्तीसगढ, राजस्थान र उत्तर प्रदेशका मानिसले अत्याधिक मात्रामा बार गर्ल इन इण्डिया खोजी गरेका थिए ।
सामाजिक सन्जाल प्रयोगकर्ताले ‘बार गर्ल इन इण्डिया’ भन्दा कसरी आयो सोनिया गान्धीको तस्बिर भनेर प्रश्न गरेका छन् । यसअघि इडियट खोज्दा अमेरिकी राष्ट्रपति ट्रम्पलाई देखाइएको बारेमा गुगलले जवाफ नै दिनुपरेको थियो । गुगलका अधिकारीका अनुसार जुन शब्दमा प्रयोगकर्ताले कोही नेताको नाम खोजी गर्छन् यसको असर खोजीको नतिजामा पर्छ ।
भारतमा पाँच राज्यको विधानसभा चुनावको नतिजा आएपछि सोनिया गान्धीको विरुद्धमा सामाजिक सन्जालमा एउटा अभियान चलाइएको थियो । केही समूहले सामाजिक सन्जालमा सोनिया राजीव गान्धीसँग विवाह गरेर भारत आउनु अघि इटालीमा बार डान्सर रहेको आरोप लगाएका थिए ।
केही फेसबुक प्रयोगकर्ता तस्बिर समेत राखेर इटालियन बार गर्ल इन इण्डिया सर्च गर्न आग्रह पनि गरेका थिए । माइक्रो ब्लगिंग साइट ‘कोरा’ मा पनि यससँग सम्बन्धिछ प्रश्न सोधिएको छ ।
केही समय अगाडि हलिउड कलाकार मर्लिन मुनरोको सन् १९५५ मा आएको एउटा चलचित्रको पोस्ट एडिट गरेर त्यसलाई सोनिया गान्धिको तस्बिर बनाइएको थियो । साथै तस्बिरलाई शेयर गर्दै राहुल र सोनियाको विरुद्धमा अभद्र टिप्पणी पनि भएको थियो ।