काठमाडौँ, २६ मङ्सिर । एउटा सानो घर, त्यो घरको अगाडि केही मानिसहरु ‘चटके माइलो हो नाटके माइलो, लिलामे माइलो देशै रमाइलो’ भन्दै जात्राका क्रममा नाच्दै गरेको देखिन्छ ।
केही समय नाचगानपछि घरबाट बाहिर निस्किएर एक युवती सबैलाई सगुन बाँड्न थाल्छिन् । घरका घरबेटी खासै राम्रो त नाचेनौँ है भनेर समीक्षा गर्न थाल्छन् । त्यसपछि केही समय वार्तालाप गरेर समूहका सबै आआफ्नो घरतिर लाग्छन् । यो कुनै गाउँको वर्णन नभई कुञ्ज थिएटर नयाँ बानेश्वरमा मञ्चन भइरहेको मगर समुदायमा आधारित ‘लिलामे माइलो’ को कथा हो । आफूले चिनेको एक भाइको कथा सुनिसकेपछि उसले आफूलाई ‘मेरो कथा लेखिदे’ भनेको अनुभूति गरेपछि आफूले कथा लेखन शुरु गरेको नाटकका लेखक तथा निर्देशक प्रभाकर न्यौपाने बताउँछन ।
“एउटा भाइको कथाले मलाई केही हदसम्म छोयो । उसको भर्खरै डिभोर्स भएको थियो, उनीहरुको जोडी एकदमै मिल्ने थियो । तर के भएर उनीहरुको जोडी छुट्टियो भन्ने कुराले मलाई एकदमै सतायो”, उनी थप्छन, “राती सुतिसकेपछि त्यो कथा लेखिहाल्नुपर्छ भन्ने मैले सोचेंँ । आजभोलि माइलो अलि चेपुवामा परेका छन्, कथा लेख्दै गएँ, माइलोले आफ्नो कथा लेखिदे भनेजस्तो लाग्यो । माइलोले आफ्नो कथा भन्दै गरेजस्तो मैले लेखिरहेजस्तो अनुभूत भयो ।” रातको ११ बजेदेखि बिहान ४ बजेसम्म आफूले कथा लेखिसकेको उनले जानकारी दिए ।
उनी भन्छन, “दुई चार दिन कथा लेखिसकेपछि पल्टाएर राखँें, माइलोले आफ्नो कथा अरुलाई पनि भनेर माइलोले भनेजस्तो मलाई अनुभूति हुन थाल्यो ।” पहिले यो कथालाई सबैले चलचित्र बनाउन सुझाए पनि आफूले नाटक नै बनाउन सोचेको उहाँ बताउनुुुहुन्छ । उनको कथालाई राज थापाले नाटकीय स्वरुप दिएका हुन । लिलामे माइलो नामक शीर्षकका बारेमा सोध्दा उनी बन्छन, “लिलाम भनेको एउटा यस्तो शब्द हो, मानिस हरेक ठाउँबाट लिलाम नै हुन्छ । लिलाम भन्ने शब्दल मलाई एकदम छुन्छ । यहाँ हरेक माइलाहरु चेपुवामा परेका छन् । ऊ प्रत्येक क्षण लिलाममा परेको छ । परिवारमा पनि उसले हेपिनुपरेको छ । नचाहँदा नचाहँदै पनि विवाह गर्नुप¥यो ।” उहाँका अनुसार माइलोको लिलामीको कथाबाट नै ‘लिलामे माइलो’ नाटक बनेको हो ।
नाटकको तयारी गत असोजदेखि लेटाङ गाउँमा गरिएको थियो । लोककथा लेखन गर्दै आएका न्यौपाने जनजाति पुनस्र्थापनाका नाममा अगाडि आए पनि उनीहरु अगाडि आउन नसकेकाले मगर समुदायलाई नै छनोट गरिएको बताउँछन । आगामी नाटकमा देशका अन्य समुदायलाई पनि समेटिएको उनले जानकारी दिए । उक्त नाटकमा हुर्राको माध्यमबाट विभिन्न कुरा प्रस्तुत गर्न खोजिएको छ ।
नाटक शुरु गर्दादेखि अहिलेसम्म रु १६ लाखभन्दा बढी खर्च भइसकेको नाटकका कार्यकारी निर्माता राजाराम कार्की बताउँछन । भन्छन, “अब नाट्यक्षेत्र उद्योगका रुपमा जानुपर्छ ।”उक्त नाटकलाई विभिन्न प्रदर्शनीमा पनि समावेश गराइने उनी बताउँछन । गत मङ्सिर १४ गतेदेखि शुरु भएको नाटक आगामी पुस ७ गतेसम्म चल्नेछ । नाटक हेर्न जाने जो कोहीले पनि हेरिरहँदा आफूले कुनै गाउँमा नै गएर हेरेको जस्तो अनुभव गर्न सक्छन् ।