काठमाडौं, २८ कार्तिक । सुगतरत्न कंसाकार नेपाल बायु सेवा निगममा मनाेमानी गरेर एक समय जेल गएका थिए । भलै अनेक गरेर उनलार्इ अदालतले त्याे बेला सफाइ दियाे । तिनै कंसाकार फेरि नेताहरुलार्इ फकाएर त्यही निगममा फर्किए उही पाेष्टमा । नानीदेखि लागेकाे बानी भनेझै फेरि कंसाकारले त्याे भन्दा ठूलाे काण्ड घटाएकाे चर्चाले बजार तताएकाे छ । नयाँ वाइडवडी जहाज किनेकाे भनेर खुबै फुर्ती लगाइएकाे खरिद प्रक्रिया अन्तत: ठूलाे जालझेल र दलालका चाङभित्र छिरेर खरिद गरिएकाे खुलेकाे छ ।
करिव एक दशक अघि कंसाकारले सञ्चालक समितिलार्इ जानकारी नदिएरै जहाज किन्ने भन्दै ठूलाे वैना रकम विदेश पठाएर जेल गएका थिए । अहिले भने भाडाकाे जहाजलार्इ खरिद गरिएकाे भनेर अर्बाै रकम हिनामिना गरेर चर्चामा अाएका छन् । यसले कंसाकारकाे नियतमाथि मात्र प्रश्न उठेकाे छैन, उनलार्इ नियुक्त गर्ने र संरक्षण गर्न मरिहत्ते गर्ने राजनीतिक नेताहरुकाे नियतमाथि पनि प्रश्न उठेकाे छ ।
प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले यसअघि एक मिडियासँग कुरा गर्दै अाफूसँग २५ अर्बकाे ‘बिल अफ सेल’ वा २५ अर्बको सामान किनेको आधिकारिकता छ भनेका थिए । त्यसैलार्इ नै उनी निगमकाे लालपुर्जा भन्दथे । ‘हामीसँग बिल अफ सेल बकाइदा छ’, कंसाकारको भनाइ छ, ‘जुन जहाजको स्वामित्व भएको पुष्टि हो।’ तर, विमानको त्यस्तो ‘लालपुर्जा’ देखेर सम्बद्ध विज्ञहरू अचम्मित छन्।
‘किन्ने र बेच्नेबीचको सम्झौता लालपुर्जा होइन। त्यसो भए जग्गा किन्न मालपोत र गाडी किन्न यातायात कार्यालय जानै पर्ने थिएन’, एयरलाइन्सका एक उच्च अधिकारी भन्छन्, ‘जहाज क्रेतालाई उत्पादक एयरबसले आधिकारिक कागज दिएको हुन्छ। जति चरण जहाज बिक्री हुन्छ, किन्नेकहाँ त्यो सर्दै जान्छ। हामीकहाँ भने आइपुगेकै छैन। किन पठाएनन्, सबैभन्दा ठूलो शंका त्यसमै छ।’
सम्झौताको पानालाई ‘लालपुर्जा’ भनियो। ‘लालपुर्जा’ मा हस्ताक्षर गर्ने कम्पनी बन्द भइसक्यो। २५ अर्बको स्वामित्वमा छापसम्म छैन। मिति कलमले लेखिएको छ। दुइटामध्ये एउटामा त मितिको खाली ठाउँसम्म भरिएको छैन। एयरबसको आधिकारिक कागज उतै लुकाइयो।
कंसाकारले स्वयं भनेका छन्, ‘२५ अर्बका सामान बिना स्वामित्व किन्ने मूर्ख होइन म।’ एयरलाइन्सका अधिकारीहरू प्रश्न गर्छन्, ‘एयरबसले दिएको आधिकारिक कागज खोइ त ? हाई फ्लाईले त्यो नदिएर किन उतै राख्यो ? जहाज बेचेकै हो भने उसलाई अब त्यो कागजको के जरुरत ? ’
तर, कंसाकारले मिडियालाई दिएको ‘लालपुर्जा’ सम्झौताकै चरणमा तयार पारिएको हो। ७ अप्रिल २०१७ मा हाई फ्लाई एक्स आयरल्यान्डसँग गरिएको खरिद–बिक्री सम्झौताको पृष्ठ ३९ मा यो छ। ‘यो कुनै लालपुर्जा होइन, सम्झौताको एउटा पृष्ठ मात्र हो’, एयरलाइन्सका अधिकारीहरू भन्छन्, ‘लालपुर्जा त त्यो हो जुन एयरबसले क्रेतालाई दिएको हुन्छ। जहाजसँगै त्यो किन आएन ? ’
अन्नपूर्ण पाेष्टमा अखण्ड भण्डारीले लेखेका छन्- नेपाल एयरलाइन्सको जहाज खरिद सम्झौता हाई फ्लाई एक्स आयरल्यान्डसँग भएको छ। त्यसअघि प्रबन्ध निर्देशक कंसाकारले ९ जुन, २०१७ मा एयरबसका किरण रावलाई इमेल लेखेका छन्। त्यसमा उनले हाई फ्लाई एक्स र एयरबसबीच भएको जहाज खरिद–बिक्रीको निर्णय एयरबसको वेबसाइटमा किन नराखेको भन्ने जिज्ञासा राखेका छन्। रावले दिएको प्रत्युत्तरमा भने हाई फ्लाई एयरलाइन्ससँग सम्झौता भइसकेको र अग्रिम भुक्तानीपछि मात्र वेबसाइटमा राखिने जनाएका छन्।
कंसाकारले हाई फ्लाई एक्सबारे जिज्ञासा राखेका छन्, जवाफमा हाई फ्लाई एयरलाइन्सको नाम छ। त्यसअघि २३ फेब्रुअरीमा पनि एयरबसका तर्फबाट रावले नै कंसाकारलाई इमेल लेखी हाई फ्लाई एयरलाइन्सबाट दुइटा जहाजको अर्डर आएको उल्लेख गरेका छन्। एयरबसले २८ जुन २०१८ मा पहिलो एयरबस नेपाललाई बुझाउँदा हाई फ्लाई एयरलाइन्सको जहाज भनी विज्ञप्ति जारी गरेको छ। त्यो नेपाल एयरलाइन्सलाई उसले भाडामा लगाउने उल्लेख छ। उक्त कम्पनीको प्रयोजन पनि भाडाकै हो।
हाई फ्लाई एक्ससँग एयरबसको सम्झौतै भएको छैन। तर, नेपाल एयरलाइन्सको रेकर्डमा दुईटाको बीच सम्झौता भएको कागज भेटिएको छ। यो पनि शंकास्पद देखिएको छ। सिधै एयरबससँग नकिनी बिचौलियाको समूह खडा गर्नु, भाडावालासँग किनिएको भन्नु, किन्ने प्रयोजनमा छुट्टै कम्पनी बनाउनु, उसको स्वामित्वमा जहाज नहुनुजस्ता तथ्यका आधारण एयरलाइन्सकै कर्मचारीहरू जहाजको स्वामित्वप्रति आशंकित छन्। ‘त्यसमाथि एयरबसको आधिकारिक कागजपत्र हामीसम्म आएकै छैन’, उनीहरू भन्छन्, ‘किनिएको हो कि भाडामा कसरी थाहा पाउनु ? ’
सबैभन्दा ठूलो पक्ष त हाई फ्लाई नामकै कम्पनी यति धेरै प्रयोग गरिएको छ, जसले सबैलाई झुक्याउँछ। एयरबस र नेपालको कारोबार फरक–फरक कम्पनीसँग छ। सिधै एयरबसबाट उठाइएको जहाज बीचमा दुई चरण किनबेच पक्कै भएको छैन। एयरलाइन्सका अधिकारीहरू सोध्छन्, ‘हाई फ्लाईको जहाज हाई फ्लाई एक्सले कसरी बेच्यो ? ’
यस्ताे छ काराेबार शृंखला
१. नेपाल एयरलाइन्सले एयरबसका दुर्इटा वाइड बडी विमान किन्न प्रस्ताव आह्वान गर्यो।
२. आवेदक १० मध्ये सबैभन्दा कम मूल्य हाल्ने एएआर नामक अमेरिकी कम्पनी छानियो, जसका प्रमुख दीपक शर्मा (नेपाली) हुन्।
३. एएआरसँग समझदारी पत्रमा हस्ताक्षर भएपछि उसले आफूसँग जहाज नभएको, आफ्नो कक्सोर्टियम पार्टनरसँग भएको भन्दै साझेदार देखायो। साझेदार थपिए– जर्मन एभिएसन क्यापिटल जीएमबीएच र हाई फ्लाई ट्रान्सपोर्टे एरियोज एसए।
४. ती कुनैसँग पनि जहाज थिएनन्। हाई फ्लाई एयरलाइन्स नामक पोर्चुगलको भाडावाल कम्पनीले एयरबससँग दुइटा जहाज किन्ने सम्झौता गरेको थियो। साझेदारसँग नाम मिलेकाले ‘हाई फ्लाई’ ले लिने जहाज यता दिने भनियो।
५. तीनवटा देशका फरक कम्पनीसँग काम गर्न जटिल हुने भन्दै नेपाल एयरलाइन्सकै विशेष प्रस्तावमा १ डलरमा हाई फ्लाई एक्स आयरल्यान्ड नामक ‘स्पेसल पर्पोज कम्पनी’ आयरल्यान्डमा दर्ता गरियो।
६. हाई फ्लाई एक्स आयरल्यान्डसँग नेपाल एयरलान्सले खरिद सम्झौता गर्यो।
७. विमान तयार भए। एयरबसले हाई फ्लाई एयरलाइन्सलाई बुझायो। हाई फ्लाईले नेपाल एयरलाइन्सलाई।
८. खरिद सम्झौता हाई फ्लाई एक्स आयरल्यान्डसँग छ, जहाज दियो हाई फ्लाई एयरलाइन्सले। नाम उस्तै राखेर भ्रम सिर्जना गर्न खोजिएको छ। यी दुई अत्यन्त फरक कम्पनी हुन्। हाई फ्लाई पोर्चुगलमा सन् २००५ देखि सञ्चालित छ। हाई फ्लाई एक्स २०१७ फेब्रुअरीमा नेपाल एयरलाइन्सकै आग्रहमा खोलिएको हो। दुवैका सञ्चालक पनि फरक छन्।
९. नेपाल एयरलाइन्सका प्रबन्ध निर्देशकले हाई फ्लाई एक्स आयरल्यान्डसँग भएको ‘बिल अफ सेल’ लाई ‘लालपुर्जा’ भनेका छन्। यसैका लागि बनाएको उक्त कम्पनी बन्द भइसक्यो। जहाज उसको स्वामित्वमा छँदा पनि थिएन। एउटाकाे जग्गा अर्कैले बेचेजस्तो भयो।