फेरि सञ्चालनमा आउँदै जनकपुर–जयनगर रेल सेवा

धनुषा, ७ साउन । देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ पुनः सञ्चालनमा आउने भएको छ ।

भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेलमार्गको पुनःनिर्माण कार्य अन्तिम चरणमा रहेकाले यही वर्षको फागुनदेखि सञ्चालनमा आउने बताइएको छ । ५१ किलोमिटर लामोे रेल लिकको पुनःनिर्माण अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले जनाएको छ ।

मर्मतसम्भार र उचित व्यवस्थापनको अभावमा जीर्ण बनेको जनकपुर–जयनगर रेलमार्ग तीन वर्षदेखि पूर्णरुपमा बन्द भएको थियो । बन्द भएसँगै भारत सरकारको पूर्ण सहयोगमा ब्रोडगेजमा रेल्वे निर्माण थालेको थियो ।

सन् २०१४ मा थालिएको पुनःनिर्माण सन् २०१८ को मार्चमा सम्पन्न हुने भारतीय कम्पनीले जनाएको छ । नयाँ निर्माण भइरहेको रेलको लिक पहिलेभन्दा ठूलो (ब्रोडगेज) रहेको छ । सानो आकारको रेलको लिकलाई विस्थापित गरेर ठूलो आकारको लिक निर्माणसँगै अरु काम पनि लगभग सकिन लागेको रेल विभागका वरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायले जानकारी दिए ।

उपाध्यायले अहिलेसम्म दुवैतर्फ स्टेसन, कार्यालय भवन, ट्र्याक बेड, भन्सार कार्यालय, कर्मचारीका लागि आवास गृह आदि निर्माण भइसकेको र अब अन्तिम कामका रुपमा लिक बिछ्याउने काम पनि धमाधम भइरहेको बताउउ । ५१ किलोमिटर लामो यो खण्ड सञ्चालनमा आएपछि दोस्रो विश्वयुद्धभन्दा पहिले सुरु भएको नेपालको एकमात्र रेलमार्गले पुर्नजीवन पाउनेछ ।

दोस्रो चरणमा बनाउने तयारी गरिएको बिजुलपुरादेखि बर्दिवाससम्मको १८ किमी लामो नयाँ खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको मन्त्रालयले जनाएको छ । यस खण्डमा अधिग्रहण गर्नुपर्ने जग्गा यकीन गरेर रेल विभागले सार्वजनिक गरे पनि रकमको अभावमा थप काम रोकिएको छ । बिजुलपुराबाट सुरु हुने यो खण्डमा जग्गा अधिग्रहणका लागि झण्डै रु तीन अर्ब चाहिने अनुमान छ ।

सरकारले बजेट विनियोजनमा ढिलाइ गरे पनि अब थप ढिलाइ हुन नदिने रेलमार्ग अनुगमनका लागि केही दिनअघि जनकपुर पुग्नुभएका विकास समितिका सभापति रवीन्द्र अधिकारीले बताए । रेल विभागका वरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायका अनुसार बिजुलपुरादेखि बर्दिवाससम्मको यो खण्ड पूर्व–पश्चिम रेलमार्गसँग जोडिने छ ।

बिजुलपुरादेखि बर्दिवाससम्म निर्माण गर्न लागिएको रेलको लिक जाने स्थान फेर्न स्थानीय बासिन्दाले आग्रह गर्दै आएका छन् । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख भएअनुसार रेलको लिक बनाउँदा धेरै उर्वर भूमि मासिने र ठूलो मानवबस्ती उठाउनुपर्ने हुँदा स्थानीय बासिन्दाले उत्तरतर्फ सारेर रेलको लिक बनाउन माग गरेका छन् ।

Loading...