‘बोक्सी’ आरोपमा निर्घात कुटिएकी राधा मञ्चमै भक्कानिएपछि सबका आँखा रसाए !

काठमाडौँ, ३ चैत ।

बोक्सी आरोपमा कैलालीको घोडाघोडी नगरपालिका-५, देउकलीमा ६ घण्टासम्म लगातार कुटपिटमा परेकी युवती बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक बनेकी छन् ।

स्थानीय २० वर्षीय राधा चौधरी शुक्रबार बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक भएकी हुन् । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियान’ ले आयोजना गरेको चेतनामूलक कार्यक्रममा उनी सहभागी भएकी हुन् ।

सोही अवसरमा उनलाई सामूहिक अभिनन्दन समेत गरिएको छ । कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बाल्दै राधाले आफू निर्दोश भएको बताइन् । ‘म निर्दोश मान्छेलाई कुटपिट गरेर मलाई अपहेलना गर्नु भयो’, उनले भनिन्, ‘मलाई गरिएको यो अभिनन्दनले उहाँहरुको पनि आँखा खुलोस् ।’ त्यस घटनाको बारेमा स्मरण गर्दा उनी मञ्चमै रोएकी थिइन् । उनि मञ्चमै राेएका देख्दा त्यहाँ उपस्थित अन्यका आँखा पनि रसाएका देखिन्थे ।

अभियानका संयोजक गोविन्दशरण उपाध्यायका अनुसार सोही अवसरमा बोक्सीप्रथाविरुद्धको सामाजिक चलचित्र ‘अग्नीदह’ पनि प्रदर्शन गरिएको थियो ।

त्यसैगरी घोडाघोडी नगरपालिकासँग जोडिएर रहेको गौरीगंगा नगरपालिकामा पनि सोही अभियान शुरु भईरहेको ओरेक नेपालकी कार्यक्रम संयोजक सरिताले जानकारी दिइन् ।

नगरपालिकाका न्यायीक समितिले कैलालीमा क्रियाशील संस्थासँग समन्वयन गरि अभियान थालेको जानकारी दिइन् । फाया नेपालले फागुन ३० र चैत १ गतेका दिन वडा नं. ८ र ७ मा जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ ।

राधामाथि “बोक्सी” आरोपमा फागुन २४ गते लगातार ६ घण्टासम्म चरम यातना दिँदै कुटपिट गरिएको थियो । देशभर धुमधामसँग अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै पुरुषहरुले पनि महिलालाई समान व्यवहार गर्ने मात्र होइन, महिला हिंसाविरुद्ध हातमा हात मिलाएर लड्ने प्रतिवद्धता राधामाथि भने निर्घात कुटपिट गरिएको थियो ।

घोडाघाडी नगरपालिका-५ देउकलीमा भने २० वर्षीया एक युवतीमाथि लगातार ६ घन्टासम्म निर्घातरुपमा कुटपिट हुँदा गाउले भने रमिते बनेका थिए । आफूलाई भोले बाबा बताउने एक युवक र अर्की युवतीले ताण्डव नृत्य देखाउदै स्थानीय किशोरीमाथि यातना दिइरहँदा सिंगो वस्तीका मानिस भने रमिता हेरेर बसिरहनुले समाजमा चरम अन्धविश्वास कायम छ भन्ने प्रष्ट देखाएको छ ।

राधामाथि भएको अमानवीय यातनापछि उक्त नगरपालिकाका मेयर समेत विवादमा मुछिएका थिए । पीडितलाई न्याय दिनुको साटो मेयर ममता चौधरीले उल्टै पीडकहरुलाई प्रहरी हिरासतबाट छुटाएर घटनालाई गाउमै मिलाउने कोशिस गरेका थिए ।

उक्त घटनापछि मेयर चौधरीलाई एमालेले आफ्नो पार्टीको तर्फबाट कारबाही गर्ने बताएको थियो भने यता नेपाल कम्युनिष्ट पार्टीले तत्काल पदबाट राजिनामा दिन आव्हानमा गरेका थियो । पदबाट राजिनामा नदिए कारबाही गर्ने समेत नेकपाले चेतावनी दिएको थियो ।

त्यसलगत्तै मेयर चौधरीमाथि अज्ञात समुहले सोमबार साँझ गोली हानेको थियो । सुख्खडस्थित घरैमा भएको गोली प्रहारबाट घाइते भएका चौधरीलाई तत्काल घोडाघोडी अस्पताल सुख्खडमा भर्ना गरिएको थियो ।

उनको कैलालीमा उपचार हुन् नसकेपछि हाल काठमाडौँको टिचिङ्ग अस्पतालमा उपचार भइरहेको छ । राधामाथि गोली हानिएको घटनामा विवादास्पद बनेपछि उक्त घटनालाई लिएर चौधरीमाथि गोली हानिएको हुन सक्ने प्रहरीको अनुमान थियो । तर प्रहरीले उक्त गोली काण्डमा संलग्नताको आशंकामा नेकपाका ३ जना नेताहरुलाई गिरफ्तार गरेको छ ।

सुख्खडस्थित अाफ्नै घरमा सुतिरहेका कमल क्षेत्री र भरत शाहलाई प्रहरीले राति ३ बजेतिर गिरफ्तार गरेको थियो । त्यसैगरी हृदय बोगटीलाई कैलालीको टिकापुरस्थित घरबाटै गिरफ्तार गरेको हो ।

यता नेपाल कम्युनिस्ट पार्टीले मेयर चौधरीको गोलीकाण्डमा अाफ्नो पार्टीको संलग्नता नरहेको स्पष्ट पारेको थियो । प्रहरीले अाफ्ना तीन नेतालाई प्रहरीले राति घरबाटै गिरफ्तार गरेको घटनाप्रति नेकपा कैलालीका इन्चार्ज महानले अापत्ति जनाएका थिए ।

Loading...