बाढीको डरले सुरक्षित घर बनाउँदै तिल्कीबासी

कञ्चनपुर । दोदा र बनारा नदीको बाढीका कारण हरेक बर्ष धनजनको क्षति बेहोर्दै आएका कञ्चनपुर जिल्लाका दक्षिणी भेग तिल्कीका स्थानिय बासिन्दा यसपटक बाढी नआउदै सुरक्षित घर निर्माणमा जुटेका छन् । सबैको पाइक पर्ने र सबैलाई सजिलो हुनेगरी गाउँको बीचमा सामुहिक सुरक्षित घर निर्माण गर्न थालेका हुन् ।
तिल्की क्षेत्र उसै पनि होचो रहेको र सो क्षेत्रमा स–साना माटो, बाँस र काठका घर भएका कारण असुरक्षित छ । हरेक बर्ष दोदा र बनारा नदी गाउँमा पसेर खाद्यान्न र लुगाकपडा बगाउनुका साथै मानवीय क्षति समेत पु¥याउने गरेको छ ।
अन्न भण्डार गर्न र धनजनको क्षति नहोस भन्नका लागि आफुहरुले सुरक्षित घर निर्माण गरेको स्थानीयवासी बताउँछन् । उनीहरुलाई सुरक्षित घर बनाउनका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुर र मर्सिकोर नेपालले सहयोग गरेको छ ।
प्रत्येक वर्ष वर्षा याममा यहाँका जनता बाढीको मारमा पर्ने गर्दछन् । ठूलो बाढी आएर यसअघि गाउँनै बगाएको उनीहरु याद गरिरहेका छन् । साथै केही वर्षमा अन्न भण्डारण र अन्य वन्दोवस्तीका सामग्री समेत बगाएको सम्झदै यसपटक अलि सुरक्षित ठाउँमा घर बनाउन लागेको उनीहरु बताउँछन् । सुरक्षित घरमा वर्षाको बेला सुरक्षित घरमा अन्न भण्डारण गरेमा आफुहरु बरु ज्यान जोगाएर भाग्न सकिने उनीहरुको भनाई छ ।
इटा र सिमेन्टद्वारा निर्माण गरिएको सुरक्षित भवन २ तलाको बनाउने उनीहरुले बताए । माथिल्लो तलामा अन्न भण्डारणदेखि बाढीले नोक्सान पुर्याउन सक्ने खाद्य तथा अखाद्य वस्तुको भण्डारण गर्ने उनीहरु बताउँछन् । साथै तल्लो तलामा पीडितहरुलाई सुरक्षित राख्न पनि प्रयोग गरिने उनीहरुको योजना छ ।

Loading...