कालिकोटमा प्रहरी र स्थानीय महिलाबीच झडप, गिरफ्तार तीन युवालाई महिलाले प्रहरीको कब्जाबाट खोसे

कालिकोट, ७ मंसिर । कालिकोटको मालकोटमा प्रहरी र स्थानीयवासीबीच आज साँझ झडप भएको छ । प्रहरीले गाउँ घेरा हालेर तीन जना युवाहरुलाई गिरफ्तार गरेर लिएपछि स्थानीय महिला बृद्धबृद्धाहरु प्रहरी चौकीमै पुगेपछि झडप भएको हो ।

मालकोटको सल्लारुख गाउँ घेरा हालेर प्रहरीले केहीबेर अगाडि तीन जना युवलाई गिरफ्तार गरेको थियो । गिफ्तार पर्नेमा बुद्धि विक, धनराज विक र बिन्द बिक रहेका छन् । उनीहरु सबै गाउँका स्थानीय युवा हुन् । उनीहरुलाई प्रहरीले गिरफ्तार गरेर नन्दादेवी मावि सेरापाटामा लगेको थियो । प्रहरीले तीन युवालाई गिरफ्तार गरेर लगेपछि स्थानीय महिलाहरु गएर प्रहरीले गिरफ्तार गरेका तीनै जना युवालाई खोसेर फिर्ता गराएका छन् ।

मालकोट गाउँ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डको गाउँ हो । साथै सेरापाटामा रहेको नन्दादेवी माविमै गत स्थानीय निर्वाचनमा पनि प्रहरी र स्थानीयबीच झडप भएको थियो । सो क्रममा स्थानीयले मतदान भइसकेर राखिएका सबै मतपेटिका जलाइदिएका थिए । सो क्रममा १ जनाको मृत्यु समेत भएको थियो ।

यसअघि कालिकोटमै प्रधानमन्त्री शेरबहादुर देउवामाथि आज दिउसो वम प्रहार भएको थियो । कोटवाडा एअरपोर्टमा आयोजित कार्यक्रममा पुगेका प्रम देउवालाई लक्षित गरी वम प्रहार भएको थियो । हेलिकोप्टरबाट कालिकोट पुगेका प्रम देउवा वम प्रहार भएपछि पाँच मिनेट मात्र सम्वोधन गरेर फर्केका थिए । वम प्रम देउवा चढेको हेलिकोप्टर ल्याण्ड भएको ठाउँदेखि ३० मिटर टाढा विष्फोट भएको बताइएको छ ।

दिउसो सो घटना भएपछि आज साँझ प्रहरीले मालकोटको सल्लारुख गाउँमा व्यापक खानतलासी गरेको थियो । त्यसकै प्रतिवादमा स्थानीय जनता उत्रेका हुन् ।

आजै कालिकोटको भर्तामा निर्वाचन टोलीमाथि अवरोध गरिएको थियो । भर्ताको टाटी गाउँको भिरालो बाटो हुँदै निर्वाचन सामाग्री बोकेर जान लागेको टोलीलाई लक्षित गरी ढुंगामुढा भएको थियो । भिरालो ठाउँमा माथिबाट ढुंगा मुढा भएपछि निर्वाचन टोली पछाडि हटेको बताइएको छ ।

Loading...