अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक नतिजामा ट्रम्पभन्दा वाइडन अघि देखिदै, यसरी चयन हुन्छन् अमेरिकी राष्ट्रपति

काठमाडौं । अमेरिकी राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएर मत परिणाम आउन सुरु भएको छ । प्रारम्भिक मत परिणाममा डेमोक्रेटिक उम्ममेदवार जोड बाइडन रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अघि देखिएका छन् ।

कूल ५० मध्ये ९ राज्यको मतगणना सकिँदा डेमोक्रेट उम्मेदवार वाइडन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका छन् । वाइडन पक्षका ४४ र रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षका ३७ प्रतिनिधि चुनिएका छन् । राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० इलेक्टोरल कलेजका प्रतिनिधि चाहिन्छ ।

निर्वाचनमा बहालवाल राष्ट्रपति ट्रम्प र पूर्वउपराष्ट्रपतिसमेत रहेका बाइडनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।

चुनावको सुरुवाती रुझानमा डोनल्ड ट्रम्पको केन्टकी, टेनसी, वेस्ट भर्जिनिया, आरकंसा र ओक्लाहोमामा जीतको अनुमान जताइँदै छ ।

यस्तै बाइडन डेलावेयर, मेरील्याण्ड, म्यासाच्युसेट्स, न्यूजर्सी, न्यूयोर्क र डिस्ट्रिक्ट अफ कोलम्बियामा जीत हासिल गर्न सक्ने सम्भावना छ ।

यसरी चयन हुन्छन् अमेरिकी राष्ट्रपति

निर्वाचनले राष्ट्रपति मात्रै होइन संघीय, राज्य र स्थानीय चुनावका लागि समेत प्रतिनिधिहरु चयन गर्छ । सांसद्, मेयर, गर्भनर, राज्यका विधायक र स्थानीय अधिकारीहरु लोकप्रिय मतका आधारमा चुनिन्छन् । तर, देशकै प्रमुख व्यक्तिका हकमा फरक नियम छ ।

राष्ट्रपति चुन्ने अधिकार इलेक्टोरल कलेजलाई हुन्छ । जब अमेरिकीहरुले भोट खसाल्छन्, तब उनीहरुले आफ्नो राज्यका राजनीतिक पार्टीहरुले नियुक्त गरेका इलेक्टर्सहरुलाई चुन्छन् । ती इलेक्टर्सहरुले आफ्ना पार्टीका उम्मेदवारलाई राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने वाचा जनतासमक्ष गरेका हुन्छन् । (यद्यपि, यदाकदा वाचा तोडिएको इतिहास छ ।)

जनसंख्याका आधारमा अमेरिकाका हरेक राज्यमा इलेक्टोरल संख्या तोकिएको हुन्छ । जस्तो, धेरै जनसंख्या बस्ने क्यालिफोर्नियाबाट सर्वाधिक ५५ जना इलेक्टोरलले प्रतिनिधित्व गर्छन् । कम जनसंख्या भएका राज्यहरुमा कम इलेक्टोरल हुन्छन् । यसरी अमेरिकामा ५० राज्यबाट कूल ५ सय ३८ जना इलेक्टोरल चुनिएर आउँछन् र उनीहरुमध्ये कम्तिमा २ सय ७० जनाको समर्थन जसलाई प्राप्त हुन्छ, त्यही राष्ट्रपति चयन हुन्छ ।

इलेक्टोरल चयनको प्रक्रिया पनि अचम्मकै छ । मेइन र नेब्रास्कालाई छाडेर अन्य ४८ राज्यमा जुन पार्टीको पक्षमा धेरै मत आउँछ, सबै इलेक्टोरल त्यही पार्टीका चुनिन्छन् । मेइन राज्यमा दुुईवटा निर्वाचन क्षेत्र छन् र यहाँबाट कूल चारजना इलेक्टोरल चुनिन्छन् । यसमध्ये दुुई निर्वाचन क्षेत्रमा जुन–जुन पार्टी विजयी हुन्छन्, त्यही पार्टीका प्रतिनिधि इलेक्टोरल बनेर आउँछन् ।

जस्तो, यदि एउटा निर्वाचन क्षेत्रमा डेमोक्रेटिक र अर्कोमा रिपब्लिकन विजयी भए भने दुुबै पार्टीले एक–एक इलेक्टोरल पाउने भए । बाँकी रह्यो, थप दुुई इलेक्टोरल को कुरा । राज्यभर (दुुई निर्वाचन क्षेत्र जोड्दा) सर्वाधिक मत जसको पक्षमा आउँछ, त्यही पार्टीबाट यी दुुई इलेक्टोरल छानिन्छन् । नेब्रास्कामा ३ निर्वाचन क्षेत्र छन् र ५ इलेक्टोरल छानिन्छन् । प्रक्रिया भने मेइनजस्तै हो । ३ वटा निर्वाचन क्षेत्रबाट विजयी हुने पार्टीका इलेक्टोरलको प्रतिनिधित्व र बाँकी दुुई इलेक्टोरल समग्र राज्यको मतपरिणामका आधारमा छानिन्छन् ।

के लोकप्रिय मत पाउनेहरु पनि हार्छन् ?

हो, धेरैपटक यस्तो भएको छ । पछिल्लो संस्करणको चुनावमा पनि यस्तै भएको थियो । देशभरबाट डोनाल्ड ट्रम्पलाई भन्दा ३० लाख धेरै मत हिलारी क्लिन्टनलाई प्राप्त भएको थियो । तर डोनाल्ड ट्रम्पको पक्षमा झन्डै ५७ प्रतिशत इलेक्टोरल मत आयो । जो, राष्ट्रपति बन्नका लागि पर्याप्त थियो । हिलारीले थोरै राज्यमा जित हासिल गरेकी थिइन्, यद्यपि, ती राज्यहरुमा मतदाता धेरै थिए । क्यालिफोर्नियाजस्ता धेरै मतदाता र इलेक्टोरल रहेका राज्यमा उनले जित हासिल गरेकाले यहाँ ठूलो मतान्तरले ट्रम्प पछि परेका थिए ।

यता, थोरै–थोरै इलेक्टोरल भएका धेरै राज्यमा विजयी भएकाले ती सबै इलेक्टोरल जोड्दा ट्रम्प सहज रुपमा राष्ट्रपति बने । तर उनले जितेका राज्यमा मतदाता र इलेक्टोरल कम भएकाले हिलारीसँगको मतान्तर पनि कम हुनपुुग्यो । सन् २००० मा पनि यस्तै भएको थियो । लोकप्रिय मत अल गोरका पक्षमा आएपनि इलेक्टोरल मतका आधारमा जर्ज डब्ल्युु बुुस राष्ट्रपति चुनिएका थिए । फ्लोरिडामा पुुनः मतगणना गर्दा बुसका पक्षमा धेरै मत आयो र उनी सर्वोच्चको आदेशपछि राष्ट्रपति चुनिए ।

१८८८ मा बेन्जामिन हेरिसनले बहालवाला राष्ट्रपति ग्रोभर क्लिभल्यान्डलाई इलेक्टोरल मतमा पछि पारे पनि धेरै मत क्लिभल्यान्डकै पक्षमा थियो । चार वर्षपछि क्लिभल्यान्ड फेरि निर्वाचनमा होमिए, अनि जिते पनि ।

लोकप्रिय मत कम आएर पनि राष्ट्रपति बन्नेहरुमा जोन क्विन्सी एडम्स र रुथरफोर्ड बी हायस पनि पर्छन् ।

इलेक्टोरल बराबरी भएमा के हुन्छ ?

इलेक्टोरल मत नै जोर संख्या (५३८) भएकाले बराबर अर्थात् दुुबै उम्मेदवारको पक्षमा २६९/२६९ मत आउने सम्भावना व्यवहारिक नै छ । यस्तो अवस्थामा नव निर्वाचित तल्लो सदनको (प्रतिनिधिसभा) भूमिका निर्णायक हुुन्छ । प्रतिनिधिसभामा जसले कम्तिमा २६ मत सुरक्षित गर्छ, उसैले जित्छ । यसबारे संविधानमा सबिस्तार उल्लेख नभएपनि ५० मध्ये हरेक राज्यका प्रतिनिधिले समूहका रुपमा कसलाई भोट गर्ने भनेर फैसला लिने यले विश्वविद्यालयका कानून प्राध्यापक अखिल रिड अमर बताउँछन् ।

यो प्रक्रियालाई थप सरल रुपमा यसरी बुुझौं

अमेरिकामा प्रतिनिधिसभा सांसद् सदस्यहरुका लागि जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तय गरिएको छ । धेरै जनसंख्या भएका राज्यबाट धेरै सांसद् र कम जनसंख्या भएका राज्यबाट कम सांसद् प्रतिनिधिसभामा निर्वाचित हुन्छन् । इलेक्टर्सको संख्या पनि धेरै जनसंख्या भएका राज्यमा धेरै र कम जनसंख्या भएका राज्यमा कम नै हुन्छ ।

तर, इलेक्टोरल मत बराबर भएर प्रतिनिधिसभाले राष्ट्रपति चयन गर्ने दुुर्लभ परिस्थिति निम्तिदा सबै ५० राज्यले समान भूमिका निभाउन पाउँछन् । धेरै जनसंख्या र सांसद् भएका राज्य हुन् वा कम जनसंख्यासहितका राज्य– सबैको मत एक नै हुन्छ । हरेक राज्यका सांसद्हरुले आ–आफ्ना समूहमा बहुमतमार्फत निर्णय लिन्छन् ।

जस्तो, क्यालिफोर्निया राज्यबाट ५३ जना सांसद्ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन्, ५३ जनामध्ये २७ जनाले जसलाई भोट दिने निर्णय गर्छन्, क्यालिफोर्नियाको मत त्यतै जान्छ । तर, यदी राज्यबाट चुनिएका प्रतिनिधिहरुबीच नै मत बराबरी भइदियो भने उनीहरुको मत गणना हुँदैन । उपराष्ट्रपतिको हकमा इलेक्टोरल भोट बराबरी भएमा नव निर्वाचित सिनेटले निर्णय लिनेछ, हरेक सिनेटरले मत खसाल्न पाउनेछन् । यदि यस प्रक्रियामा कुनै विवाद देखिएमा सबै कुरा अदालतसम्म पुग्नसक्छ ।

इलेक्टर्सले वाचा तोडेमा के हुन्छ ?

जनतासमक्ष एउटा पार्टीलाई समर्थन गर्ने वाचा गरेका इलेक्टर्सले आफ्नो वाचा तोड्दै अर्को पार्टीलाई भोट खसालेको इतिहास खोज्न धेरै पछाडि फर्कनुपर्दैन । मानिसहरु यस्तो इलेक्टर्सलाई ‘आस्थारहित इलेक्टर्स’भन्छन् । २०१६ मा डेमोक्रेटिकका ५ र रिपब्लिकनका २ इलेक्टर्सले पार्टीका उम्मेदवारलाई भोट खसाल्ने आफ्नो वाचा तोडेका थिए । इतिहासमा ७ इलेक्टर्सले एकैपटक वाचा तोडेको यो पहिलो घटना हो । उनीहरुले बर्नी स्यान्डर्स, कोलिन पोवेल र रोन पाउलजस्ता मतदान सूचीमा नरहेका उम्मेद्वारहरुका नाममा भोट खसाले । यद्यपि,यसले नतिजालाई परिवर्तन गरेन ।

इलेक्टर्सले आफ्नो विचार परिवर्तन गर्न पाउँछन् वा पाउँदैनन् भन्ने विषयमा ठूलै बहस हुने गरेको छ । आफुले वाचा गरेको उम्मेदवारका पक्षमा इलेक्टर्स उभिनुपर्ने आदेश सर्वोच्च अदालतले गत जुलाईमा सर्वसम्मत रुपमा सुनाएको थियो । केही प्राज्ञहरुले भने यस निर्णयसँग पूर्ण सहमत हुन नसकिने प्रतिक्रिया दिएका थिए, यस निर्णयले इलेक्टर्सको स्वतन्त्रता हनन् गरेको उनीहरुको तर्क थियो ।

३३ वटा राज्य र कोलम्बिया डिस्ट्रिकमा आफुले वाचा गरेका उम्मेदवारकै पक्षमा इलेक्टर्सले भोट गर्नुपर्ने कानून बनाएका छन् । यदि कुनै इलेक्टर्सले आफ्नो वाचा तोडेमा केही राज्यले इलेक्टर्सलाई बिस्थापित गर्छन् र उनीहरुको भोट स्थगित गरिदिन्छन् । केही राज्यमा जरिवानाको पनि नियम छ । आफ्नो वाचाबाट पछाडि हटेमा न्यु मेक्सिकोका इलेक्टर्सहरुमाथि आपराधिक मुद्दा अघि बढ्छ । त्यस्तै, ओक्लाहोमा राज्यले पनि यस्ता इलेक्टर्समाथि मुद्दा चलाउँछ ।

इलेक्टोरल प्रणाली कहिलेबाट सुरु भयो ?

सन् १७८७ मा फिलाडेल्फियामा भएको संवैधानिक भेलाले इलेक्टोरल कलेज जन्माएको थियो । अमेरिकाका संस्थापकहरुलाई यो प्रणालीले गुटगत राजनीतिक र पार्टीको अधिपत्य कम गर्छ भन्ने आशा थियो, उनीहरु त्यस्तो प्रणाली ल्याउन चाहन्थें, जो पूर्णत लोकप्रिय मत वा कंग्रेसमा मात्रै निर्भर नहोस् । यो प्रणाली सुरु भएदेखि नै केही अनौठा नतिजाहरु आउन थाले । १८०० को निर्वाचनमा थोमस जफर्सन र आरोन बुरले बराबर इलेक्टोरल मत पाए । यसपछि कंग्रेसको मत निर्णायक भयो, जेफर्सन राष्ट्रपति र बुर उपराष्ट्रपति बने ।

१८०४ मा अमेरिकी संविधानको १२ औं संशोधन हुनु अघिसम्म सर्वाधिक इलेक्टोरल मत ल्याउने व्यक्ति राष्ट्रपति र दोस्रो बढी मत ल्याउने व्यक्ति उपराष्ट्रपति हुने व्यवस्था थियो । पछिल्ला केही वर्षयता इलेक्टोरल कलेजलाई पूर्ण रुपमा हटाउनुपर्ने विषयमा पनि बहस भइरहेको छ । २०१६ को निर्वाचनले यस बहसलाई फेरि सतहमा ल्याएको थियो । यसपटकको निर्वाचनमा पनि डेमोक्रेट्रिक पार्टीको आन्तरिक प्रतिस्पर्धाका दौरान उम्मेदवारहरुबीच यो विषयमा बहस भयो ।

Loading...